सार्वजनिक जग्गा कब्जा र दुरुपयोग गर्नेलाई कारबाही गर्न निर्देशन
काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक शुक्रबार बसेको छ । बैठक सिंहदरबारमा बसेको हो । बैठकले सार्वजनिक, सरकारी, गुठी, सामुदायिक, विर्ता एवम् निजी जग्गाको अभिलेख संरक्षण गर्न निर्देशन दिएको छ ।
बैठकमा सार्वजनिक जमिनको अभिलेखीकरण, प्रयोग तथा संरक्षण कार्यसूचीमाथि छलफल भएको थियो । बैठकले हाल जमिनहरूलाई सार्वजनिक, सरकारी, गुठी, सामुदायिक, विर्ता एवम् निजी गरी जग्गाको आधारभूत वर्गीकरण गरिएको देखिएतापनि यस्ता जग्गाहरूको अद्यावधिक अभिलेखीकरण, प्रयोगको वास्तविक अवस्थाको विवरण तथा आवश्यक संरक्षणमा तीनै तहको सरकारबिच नीतिगत स्पष्टता एवम् आवश्यक समन्वय हुन नसकेको ठहर गरेको छ ।
यस्तै, सार्वजनिक, सरकारी, गुठी, सामुदायिक जग्गा सम्बन्धी पुराना अभिलेखहरुलाई संरक्षण गर्ने कार्य गर्न, उल्लिखित किसिमका जग्गाहरूको अभिलेखीकरण, प्रयोग र संरक्षणमा तीनै तह र सम्बद्ध निकायहरूबिच नीतिगत तथा समन्वयगत स्पष्टता कायम गर्न, गराउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सम्बद्ध सम्पूर्ण निकायलाई निर्देशन दिइएको छ ।
सार्वजनिक तथा सरकारी जमिनहरूलाई कुनैपनि कारण दुरुपयोग हुनबाट रोक्न, अतिक्रमण गर्ने, कब्जा गर्ने तथा सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्नेलाई यथाशीघ्र कारबाही गर्न समेत समितिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिएको छ ।
