मकवानपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

तु खबर संवाददाता
२०८१ जेष्ठ २५, शुक्रबार १६:०५

मकवानपुर । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ९ रजैयामा आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

बिहान सवा ९ बजेको समयमा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ए.एस. २५ डीसी ०२१२ नम्वरको खाली ग्यास बुलेट गाडीले विपरित दिशातर्फ जाँदै गरेको ग ७ प २३०४ नम्वरको मोटरसाइकललाई ठक्कर दिई दुर्घटना हुँदा एक जनाको मृत्यु र एक जना घाइते भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, दुर्घटनामा परेर मोटरसाइकल चालक कास्कीको पोखरा उपमहानगरपालिका वडा नम्वर ११, फुलवारी बस्ने अन्दाजी ३१ वर्षीय सुवास गुरुङ र पछाडि सवार अन्दाजी ३३ वर्षीय निर्मला अधिकारी घाइते भएका थिए ।

घाइते दुबै जनालाई उपचारको लागि हेटौंडास्थित चुरेहिल अस्पतालमा ल्याइएको थियो । गम्भीर घाइते अधिकारीको भने उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको हाल नम्बर नखुलेको सेतो कलरको हाइलेक्स गाडीले अचानक ब्रेक लगाउँदा उक्त गाडीको पछाडी आउँदै गरेको मोटरसाइकलले हाइलक्स गाडीको पछाडी ठक्कर दिई मोटरसाइकल उछिटिएको र विपरित दिशातर्फ जाँदै गरेको माथि उल्लेखित ग्यास बुलेटले ठक्कर दिइएको घाइते चालकले जानकारी गराएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

मोटरसाइकल, ग्यास बुलेट, ग्यास बुलेट चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।