खोलाले जीप बगाउँदा दुई जनाको मृत्यु
विराटनगर । रतुवा खोलामा सोमबार आएको बाढीले बोलेरो जीप बगाउँदा दुई जनाको मृत्यु भएको छ ।
बेलुका इलामको चुलाचुली गाउँपालिका–५ चपेटीस्थित दमक लारुम्बा भित्री कच्ची सडकखण्डमा दमकबाट माङ्सेबुङतर्फ जाँदै गरेको जीप रतुवा खोला तर्ने क्रममा एक्कासी आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको हो ।
बाढीले जीप बगाउँदा इलामको माङ्सेबुङ गाउँपालिका–५ की अन्दाजी ३० वर्षीय सर्मिला वानेम र माङ्सेबुङ–३ की निरु लिम्बुका छोरा ३ वर्षीय निहाङ लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
यस्तै, दुर्घटनामा परेर निरु लिम्बु घाइते भएकी छन् । उनको उपचार भइरहेको छ ।
लु १ च ९४९१ नम्बरको डबल क्याब बोलेरो गाडी खोलाले बगाउँदा चालकसहित तीन जनाले हाम्फालेर आफ्नो ज्यान जोगाएका थिए ।
प्रहरीले सवारी चालक २२ वर्षीय नेत्रहाङ लिम्बुलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
