बागमतीमा ट्राफिक कारबाहीबाट १४ करोड ३३ लाख राजस्व सङ्कलन

तु खबर संवाददाता
२०८१ जेष्ठ २१,सोमबार १५:४५
fille-photo

मकवानपुर । बागमती प्रदेशमा पछिल्लो १० महिनामा ट्राफिक कारबाहीबाट १४ करोड ३३ लाख ६४ हजार राजस्व सङ्कलन भएको छ ।

सवारी दुर्घटना न्यूनिकरण गर्न प्रदेशका विभिन्न जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक वर्ष २०८०–०८१ को गत साउनदेखि बैशाख महिनासम्ममा भएको कारबाहीबाट उक्त राजस्व संङ्कलन गरेको हो ।

सो अवधिमा एक लाख ८४ हजार तीन सय १६ सवारी चालकमाथि कारबाही गरिएको छ ।

पूर्व–पचिम राजमार्गमा जडान गरिएको सिसीटिभी र ‘रडार गन’बाट सवारी साधनको गति निगरानी गरिरहेको ट्राफिक प्रहरीले उक्त संख्याको सवारी साधनमाथि कारबाही गरेको हो ।

प्रहरीले गत आवमा दुई लाख ९१ हजार दुई सय ९३ सवारीमाथि कारबाही गरी रु २६ करोड ३६ लाख ८३ हजार पाँच सय राजस्व सङ्कलन गरेको थियो ।