प्रभावकारी बन्दै वैदेशिक रोजगारको लागि सुरक्षित आप्रवासन परियोजना

सवालः सुरक्षित आप्रवासन परियोजनाबारे जानकारी गराइदिनुहोस् न, यसबाट नागरिकहरुले के–कस्ता सेवा सुविधा पाउँछन् ?
जवाफः धन्यवाद, सुरक्षित आप्रवासन सामी परियोजना अन्तरगत हामीले वैदेशिक रोजगारीमा जान लागेका र वैदेशिक रोजगारीबाट फर्किएका वा अन्य सम्भावित व्यक्तिहरुसँग जोडिएर काम गर्दै आएका छौँ ।
हामीले विशेषगरी ५ वटा क्षेत्रमा काम गरिरहेका छौं । सूचनामा पहुँच, सिपमा पँहुच, न्यायमा पहँुच, मनोसामाजिक पहुँच र वित्तीय साक्षरतालगायतका क्षेत्रमा हामीले महत्वका साथ काम गरिरहेका छौँ ।
हाम्रो कार्यालय हेटौंडा उपमहानगरपालिकामा छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा पनि आप्रवासी स्रोत केन्द्रका रुपमा हामी छौँ । (१०१) नम्वर कोठामा गएर यहाँहरुले बैदेशिक रोजगारीसँग सम्बन्धित विभिन्न जानकारी र वैदेशिक रोजगारीका क्रममा देखिएका समस्या वा गुनासो टिपाउन सक्नुहुनेछ । हामी यहाँहरुलार्ई साथ सहयोग गर्नेछौँ ।
नागरिकहरुलाई वैदेशिक रोजगारीमा जान के–के कागजपत्र आवश्यक छ ? गइसकेपछि आइपर्ने सम्भावित समस्याहरु के–के हुन्, मेनपावर वा पठाइदिने संस्थाको आधिकारिकता के हो ? आफु जान लागेको देशको नीति नियम कस्तो छ ? विदेश जानको लागि आफु शारिरिक वा मानसिक रुपमा तयार भएको अवस्था हो कि होइन ? पारिवारिक सहमति छ कि छैन ? यदि जोखिम वा समस्या आइपरे समाधान गर्न सक्छौं की सक्दैनौं ? लगायतका विषयमा हामी परामर्श गर्छौँ । समस्यामा पर्नुअघि नै सचेत गराउँछौँ । समस्यामा परिसकेकाहरुलाई पनि समाधानको लागि सहयोग गर्छौँ ।
त्यस्तै सिप छ कि छैन ? सिप बिना नै जाँदा के हुन्छ ? सिप सिकेर गयौँ भने हामी कसरी सफल हुन सक्छौँ भन्ने विषय अन्यन्तै महत्वपूर्ण छ । तपाई क्षमतावान हुन निकै जरुरी छ । अहिले नेपाल सरकारले पनि वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ भने यो–यो सिप आवश्यक छ भनेर जानकारी गराइरहेको अवस्था छ । पहिलो पटक, दोस्रो पटक वा तेस्रो, चौथौ जति पटक पनि वैदेशिक रोजगारीमा जानको लागि सिप आवश्यक रहेको र आफुसँग भएकै सिपलाई पनि अझै निखारेर जानुहोला भनेर सिप सम्बन्धि सूचना पनि दिने गरेका छौँ ।
सवालः यहाँहरुले के–कस्ता सिपमुलक कार्यक्रम सञ्चालन गरिरहनुभएको छ ?
जवाफः अहिलेको अवस्थामा नेपाल सरकारले सामी अन्तरगत ल्याएको विभिन्न ९ वटा सिपहरु सिक्ने/सिकाउने विषय खासै प्रभावकारी हुन सकेको छैन ।
युवाहरुले सवारी चालक, सुरक्षा गार्ड, होटल लाइनको विभिन्न सिपहरु खोजिरहनुभएको छ । तर, अहिले हामीसँग पर्याप्त छैन । हामीसँग कार्पेटिङ् हाउस वाइरिङ्लगायतका सिपमुलक तालिम छ । त्यसैले हामीसँग भन्दा पनि आफैँले सिप सिकेर बैदेशिक रोजगारीमा जानेको संख्या बढ्दो छ । तर, जति पनि दाजुभाई, दिदीबहिनीहरु सामीसँग समन्वय गरेर वैदेशिक रोजगारीमा जानुभएको छ, उहाँहरुले सिप सिकेर जाँदा धेरै कुरामा सहज भएको छ । भनेकै जस्तो तलब पाइरहेको भनेर खुसी पनि हुनुहुन्छ । थप जानकारी हाम्रो कार्यालयमा आएर पनि लिन सक्नुहुनेछ ।
सवालः यहाँहरुले वैदेशिक रोजगारीमा गएको व्यक्तिको परिवारलाई लक्षित गरेर पनि पारिवारिक मिलनलगायतका विभिन्न कार्यक्रम सञ्चालन गरिरहनुभएको छ । विशेषगरी उहाँहरुसँग भेट्दा मुख्य–मुख्य समस्या के–के पहिचान गर्नुभयो ?
जवाफः हामीले बैदेशिक रोजगारीको क्रममा रहेका र उहाँहरुको परिवारसँग भेट गर्ने, मनो सामाजिक परामर्श दिने, पारिवारिक मिलन गराउन प्रयास गर्नेलगायतका कामहरु गरिरहेका छौँ । वैदेशिक रोजगारीमा गएर २–३ वर्षमा स्वदेश आउने र फेरी रोजगारीको लागि सोही देश फर्किएकाहरुको तथ्याङ्क हेर्दा राम्रै छ । किनकी उहाँहरुले त्यहाँ सिकेका सिपहरु त्यँही लागू भइरहेको छ । जो पहिला एउटा देश र पछि अर्कै देश जाने गर्नुभएको छ, त्यस्तो अवस्थामा फ्रि भिषा, फ्रि टिकेट भनेको ठाउँमा पनि लाखौँ रुपैयाँ बुझाएर फँसिरहेको घटना हामीमाझ आउने गर्दछ । सोही कारणले कतिपयको घरबार बिग्रेको अवस्था पनि छ । पारिवारिक अन्य समस्या पनि देखिएको छ ।
सिप नसिकीकन जाने, जुन मेनपावरबाट पनि एप्लाई गर्ने र आफु जान लागेको ठाउँकोे कानून, हावापानी केही पनि नबुझ्दा समस्या हुने गरेको हामीले पायौँ । भनेको भन्दा फरक काम पाउने, लामो समयसम्म तलब नपाउने, दुई–तीन महिनामा नै स्वदेश फर्किएका केसहरु, जेल परेका केसहरु पनि छन् । जसले गर्दा उक्त परिवारमा मानसिक तनाव हुने गरेको पाइन्छ । बालबालिकाहरु पनि मानसिक रोगको सिकार भई सुसाइड गर्न खोज्ने समस्या बढी देखिएको छ । बढ्दो ऋणका कारण तनावहरु सिर्जना हुने गरेको धेरै केस छ ।
कतिपय दाजुभाईले राम्ररी कमाएर पठाउनुभएको र उहाँहरुको श्रीमतीले पनि सोही अनुसारले बालबालिका पढाउनेदेखि घर व्यवहार व्यवस्थापन गर्ने गरेको पाइन्छ भने वैदेशिक रोजगारीमा रहेको व्यक्तिको परिवारको सदस्य चिन्तामा हुँदा हामीले उहाँहरुलाई वित्तीय साक्षरत्ता कार्यक्रम, मनोबैज्ञानिक परामर्शका कार्यक्रमहरु संचालन गरिसकेपछि उहाँहरुले परिवार व्यवस्थापन गरेर खुसीसाथ जीवनयापन गरेको अवस्था छ । उत्पन्न समस्याहरुसँग नडराइकन सामना गर्नुपर्ने रहेछ, समस्या र चुनौतीलाई सहज तरिकाले समाधान गर्न सक्दा आफुसँगै घरपरिवार र समाजका अन्य व्यक्तिहरुको पनि आत्मबल बढ्ने र सिंगो गाउँ नै आत्मनिर्भर हुने रहेछ भन्ने खालको बुझाईको विकास उहाँहरुमा भएको पाइन्छ ।
उहाँहरुले झोला र धुप बनाउने, करेसा बारीमा तरकारी खेती गरेर तरकारी किन्ने पैसाको बचत गर्ने, कतिपयले बैदेशिक रोजगारीमा गएको परिवारको सदस्यलाई फिर्ता बोलाएर नेपालमै गाई, भैँसी, बाख्रालगायतका पशुपालन गर्ने गरिरहनुभएको छ । जो डिप्रेशनको सिकार हुनुहुन्थ्यो, उहाँहरुले अहिले व्यवसाय गरेर महिनाको २० देखि ५० हजार रुपैयाँसम्म कमाई गरिरहनुभएको अवस्था छ ।
सवालः वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै प्रलोभनमा पारी ठगी गरेको घटना हामीले देख्दै, सुन्दै आएका छौँ । विशेषगरी कस्ता खालका व्यक्तिहरु ठगीमा परेको पाउनुभयो ? ठगिएकाहरुले खुलेर गुनासो राख्नुहुन्छ कि हुँदैन ?
जवाफः हाम्रो अनुभवमा अहिले जो मान्छे पढेलेखेका जान्ने बुुझ्ने हुनुहुन्छ, उहाँहरु प्रलोभनमा परेर, विशेषगरी महत्वकांक्षाका कारण ठगीमा परेको देखिन्छ र जो नपढेका, असहाय, गरिब हुनुहुन्छ, त्यस्ता व्यक्तिहरुलाई आफ्नै मान्छे, छरछिमेकी र चिनेजानेकाहरुले नै टार्गेट गरेर ठगी गरेको भेटिन्छ । पछिल्लो समय सामाजिक सञ्जालमा मिथ्या प्रचार गरी विचौलियामार्फत् ठगीका घटनाहरु भइरहेको हामीले पाएका छौँ । ठगिएकाहरुले खुलेर गुनासो गर्ने, सम्बन्धित निकायमा उजुरी गर्ने क्रम बढेको छ । अपवादबाहेक उहाँहरुले न्याय पाएको अवस्था छ ।
सवालः नागरिक आफैँ के–कस्ता कुरामा सचेत हुने ? ठगीका घटना न्यूनिकरण गर्न राज्यका संयन्त्रहरु कसरी अघि बढ्दा उपयुक्त होला ?
जवाफः सकेसम्म त राज्यले स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने भावना नागरिकहरुमा जगाउनुपर्छ । स्वदेशमै केही गर्न चाहाने युवाहरुलाई हौसला दिने गरी नीति कार्यक्रम ल्याउनुपर्छ जस्तो लाग्छ । व्यावसायिक सुरक्षाको प्रत्याभूति गराउनेतर्फ अघि बढ्नुपर्छ । अब विदेश जानैपर्ने अवस्थाका मानिसहरुलाई सचेत गराउने, विभिन्न सिपमुलक तालिम दिने, ठगी नियन्त्रणका लागि ठोस् नीति तर्जूमा गरी प्रभावकारी कार्यान्वयन गर्ने गर्नुपर्दछ । नागरिक स्वयम् पनि सचेत हुन जरुरी छ । हामी नागरिक सचेतनाको अभियानमा लागिरहेका छौँ । हामीसँग निशुल्क परामर्श लिन हामी आग्रह पनि गर्न चाहान्छौँ ।
सामीले राज्यसँग मिलेर विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको अवस्थामा त्यसलाई अझ प्रभाकारी बनाउन वडा–वडामा गएर जनचेतनामूलक कार्यक्रमको आयोजना गर्नुपर्छ । यो अभियानको महत्व बुझेर स्थानीय तहले अपनत्व ग्रहण गर्नुपर्छ । स्थानीय सरकारले नजिकबाट भिजेर यो समस्या व्यक्तिको भन्दा पनि आफ्नै हो भन्ने भावनासहित समाधानको प्रयास गर्नुपर्छ ।
सवालः सेवाग्राहीका समस्या समाधान गर्न सामी सफल भएको छ ?
जवाफः अवश्य पनि, हामी सेवाग्राहीका समस्या समाधान गर्न सफल भएका छौँ । समस्यामा पर्नूअघि नै सल्लाह सुझाव लिने व्यक्तिहरुलाई समस्यामा पर्नबाट जोगाएका छौँ ।
सामी वैदेशिक रोगजारीमा गएर जेल पर्नुभएका नेपालीहरुलाई सुरक्षित स्वदेश फर्काउन सफल भएको छ । भिजिट भिसामा गई गैर कानूनी रुपमा घरायसी कामदारको रुपमा बसेर समस्यामा पर्नुभएका दिदिबहिनीहरुलाई सुरक्षित नेपाल फर्काउन सफल भएका छौँ । ठगीमा परेकाहरुको पैसा फिर्ता गराउन र ठगीनबाटै रोक्न सफल भएका छौँ । हामीसमक्ष आएका अधिकाँश घटना समाधान भएको छ । वैदेशिक रोजगारीमा जानुभएको व्यक्ति होस् या उहाँको परिवारका अन्य सदस्यहरुको हकमा होस्, केही समस्या पर्यो, केही घटना घट्यो भने हेटौंडा उपमहानगरपालिकास्थित र जिल्ला प्रशासन कार्यालय मकवानपुरस्थित हाम्रो कार्यालयमा यहाँहरुले गुनासो वा समस्याबारे जानकारी गराउन सक्नुहुनेछ । हामी तपाईँहरुको समस्या समाधानका लागि साथ दिनेछौँ । पहल गर्नेछौँ । त्यस्तै हामीले गाउँघरमा नै पुगेर पनि सचेतनाका कार्यक्रम सञ्चालन गरिरहेका छौँ । त्यसकारण नागरिकहरुको विश्वास र भरोसा सामीप्रति बढ्दै गएको छ ।
सवालः तीनै तहका सरकार, राजनीतिक दल, संचार क्षेत्र, नागरिक समाज, विभिन्न संघसंस्थालगायतको सहयोग र समन्वय सन्तोषजनक छ ? के गरिदिए अझै सहज हुन्थ्यो भन्ने लाग्छ ?
जवाफः हामीलाई सबै क्षेत्रबाट सहयोग प्राप्त भएको छ । स्थानीय सरकार, राजनीतिक दल, पत्रकार जगत, नागरिक समाज सबैको सहयोगबाट नै हामी अघि बढिरहेका छौँ । यो सबैको साझा अभियान हो । विदेशमा रहनुभएका नेपाली दाजुभाई दिदिबहिनीहरु र त्यहाँस्थित विभिन्न संघ संस्थाहरुबाट पनि हामीलाई ठूलो सहयोग हुँदै आएको छ । यहाँहरु सबैले आ–आफ्नो तर्फबाट अझै सहयोग समन्वय गरिदिनुहुनेछ भन्ने हामीले विश्वास लिएका छौँ ।
सवालः कानूनी जटिलता, संस्थागत जिम्मेवारीको दायरा आदिका कारण यहाँहरुलाई काम गर्ने क्रममा के कस्ता चुनौती देखा पर्छन् ?
जवाफः धेरै प्रकारका चुनौती हामीले सामना गरेका छौँ । हामीले कामदार भिसामा जानेहरुलाई मात्रै हेर्ने गरेका छौँ । तर, भिजिट भिषामा जानेहरु समस्यामा परेको खण्डमा उहाँहरुको समस्या समाधान गर्न र उहाँहरुको विषयमा मुद्धा मामिला गर्न चुनौती हुने गरेको छ । तर पनि हामीले मानवताको हिसाबले निकै हदसम्म समस्या समाधानको प्रयास गर्दै आएका छौँ । कतिपय सन्दर्भमा पीडित पक्षले सही सूचना हामीलाई नदिँदा पनि समस्या हुन्छ भने, कतिपय अवस्थामा संस्थागत जिम्मेवारीको दायराका कारण र कानूनी जटिलताका कारण चुनौती देखा पर्ने गरेको छ ।
सवालः अन्त्यमा के भन्न चाहानुहुन्छ ?
उत्तरः हामीले महत्वपूर्ण धेरै विषयमा छलफल गरिसकेका छौँ । सामीले अघि बढाएको अभियान पनि स्थानीय तहकै हो । स्थानीय तहले नै यसलाई अझै अपनत्व लिएर अघि बढ्नुपर्छ जस्तो लाग्छ । हाम्रो समाजमा अहिले मानसिक समस्यामा परेका र घरायसी पीडामा रहेका व्यक्तिहरुको संख्या बढ्दो छ । उहाँहरु खुलेर आउन सक्नुभएको छैन । त्यस्ता व्यक्तिहरु अझै खुलेर अगाडि आई समस्या बताउने अवस्था बन्यो भने हामीलाई काम गर्न निकै सहज हुने थियो भन्ने लाग्छ । मानसिक स्वास्थ्य मानव जीवनका लागि महत्वपूर्ण छ भन्ने बुझाउन आवश्यक छ । यसले अप्रीय घटनाहरुलाई रोक्न सहयोग पुर्याउँछ । सबै नागरिकहरुलाई सचेत हुन आग्रह गर्न चाहान्छु । नागरिकहरुलार्ई निरन्तर परामर्श दिन, उहाँहरुको समस्या समाधानका लागि साथ सहयोग गर्न सामी सदैव तयार रहेको कुरा यहाँको मिडियामार्फत् जानकारी गराउन चाहान्छु ।
तु खबरले विगतमा पनि सामीको विषयमा समाचार सम्प्रेषित गरेर नागरिकहरुलाई सुसूचित गराउँदै आएको थियो । फेरी एक पटक अवसर दिनुभयो । त्यसका लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु ।