चितवनमा ३ बस र एउटा ट्रक ठोक्कियो, एकको मृत्यु, २३ जना घाइते

तु खबर संवाददाता
२०८१ जेष्ठ १४,सोमबार ०८:५०
file photo

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत् पर्ने चितवनको भरतपुर महानगरपालिका वडा नं. २९ मा चार वटा सवारी साधन एकापसमा ठोक्किएर दुर्घटना भएके छ ।

काठमाडौंबाट प्युठान जाँदै गरेको बा ४ ख ९०८६ नम्बरको बस, नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ३ ख ७९१५ नम्बरको ट्रक, काठमाडौंबाट बर्दिवासतर्फ जाँदै गरेको ना ७ ख ३२४८ नम्बरको बस र वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ८९६८ नम्बरको बस आइतबार राति साढे १२ बजेतिर एकैठाउँमा ठोक्किएर दुर्घटना भएको हो ।

काठमाडौंबाट प्युठानतर्फ जाँदै गरेको बस र ट्रक सुरुमा ठोक्किएपछि अन्य सवारी साधनहरु पनि त्यहीँ ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार, उक्त दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । मृतकको पहिचान खुलेको छैन ।

यस्तै, दुर्घटनामा परेर घाइते भएकामध्ये ५ जनाको अवस्थामा गम्भीर रहेको र उनीहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जनाइएको छ ।

दुर्घटनापश्चात अवरुद्ध बनेको सडक आज बिहान करिब ५ बजेदेखि दुईतर्फी रुपमा सञ्चालनमा आएको छ । दुर्घटनास्थलबाट सबै सवारी साधनहरु हटाएर सडक संचालनमा ल्याइएको हो ।