हेटौंडा आँखा अस्पताललाई मेसिन सहयोग
मकवानपुर । हेटौंडा सामुदायिक आँखा अस्पताललाई आँखाको जाचँ गर्ने मेसिन सहयोग प्राप्त भएको छ ।
आँखा अस्पताललाई हेटौंडा उपमहानगरपालिकाले फन्डर्स क्यामेरा (आखाँको पर्दाको क्यामेरा) जाचँ गर्ने मेसिन सहयोग गरेको हो ।
उक्त मेसिन आइतबार उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले एक कार्यक्रमबीच हस्तान्तरण गरेको हो ।
उक्त मेसिन हेटौंडा उपमहानगरपालिकाको १७ लाख रुपैँया सहयोग र अस्पतालको २ लाख रुपैँया लागत गरी १९ लाख रुपैँयामा खरिद गरेको जनाइएको छ ।
यस मेसिनले सुगर, प्रेसर र ५० वर्ष नाघेका बिरामीहरुलाई जाँच गर्न विशेष सहयोग हुने अस्पतालका प्रमुख डाक्टर सुनिल थकालीले जानकारी दिए ।
उनका अनुसार, उक्त मेसिनले आँखाको रेटिनाको रङ्गिन फोटो निकाल्ने हुनाले जलविन्दु, मोतिविन्दु वा जुनसुकै रोगको शंका लागेमा सजिलै पत्ता लगाउन सकिने र उपचारमा थप सहज हुनेछ ।
सो अस्पतालमा मकवानपुरसहित मधेश प्रदेशका बारा, पर्सा, रौतहटलगायत विभिन्न जिल्लाका बिरामीहरु उपचारको लागि आउने गरेका छन् ।
