मकवानपुर दुर्घटना अपडेटः दुई जनाको मृत्यु
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर १२ चौतारास्थित कान्तिलोकपथ सडकखण्डमा आज बिहान सवारी दुर्घनामा परेर घाइते भएकामध्ये दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा रौतहटको मौलापुर नगरपालिका–६ बस्ने १७ वर्षीय विबेक शाह र बकैया गाउँपालिका–१२ बस्ने ६५ वर्षीय प्रेमबहादुर ब्लोन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
दुर्घटनामा परेर गम्भीर घाइते भएको दुबै जनाको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका बाराको निजगढ नगरपालिका–६ बस्ने ३० वर्षीय सन्दिप शाहको भने मकवानपुर सहकारी अस्पताल हेटौंडामा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए । घाइते शाह कार चालक हुन् ।
बिहान साढे ७ बजेको समयमा ललितपुरबाट हेटौंडातर्फ आउँदै गरेको ग ३ च ९४७५ नं.को टाटा कार आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ५०० मिटर तल खसेर दुर्घटना भएको थियो ।
उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।
