मकवानपुरमा बिहानै सवारी दुर्घटना, तीन जना गम्भीर घाइते
मकवानपुर । मकवानपुरमा आज बिहानै सवारी दुर्घटना भएको छ ।
जिल्लाको बकैया गाउँपालिका वडा नम्वर १२ चौतारास्थित कान्तिलोकपथ सडकखण्डमा टाटा कार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, बिहान साढे ७ बजेको समयमा ललितपुरबाट हेटौंडातर्फ आउँदै गरेको ग ३ च ९४७५ नं.को टाटा कार आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ५०० मिटर तल खसेर दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा परेर तीन जना गम्भीर घाइते भएका छन् । घाइते तीनै जना पुरुष हुन् । उनीहरुको पहिचान भने नखुलेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।
घाइते तीनै जनालाई घटनास्थलबाट उद्दार गरी उपचारको लागि हेटौंडा अस्पतालतर्फ ल्याउँदै गरेको र प्रहरीले घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।
