दुर्घटनामा परेर गम्भीर घाइते भएका हेटौंडाका वाइबाको मृत्यु

तु खबर संवाददाता
२०८१ जेष्ठ ३,बिहीबार ०९:३८

मकवानपुर । सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएका हेटौंडाका लालबहादुर वाइबाको उपचारको क्रममा मृत्यु भएको छ ।

हेटौंडा–५ शान्तिनगर बस्ने ५२ वर्षीय वाइबाको चितवनको भरतपुरमा उपचारको क्रममा बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, गत वैशाख २७ गते हेटौंडा–५, बानियाँ टोलस्थित भित्री सडकखण्डमा पार्कीङ गरी राखेको ना ४ च ४१४२ नम्बरको गाडीमा खेत जोतेर आउँदै गरेको बा प्र ०३–००१ त ३१८ नम्वरको ट्याक्टर आफै अनियन्त्रित भई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।

घाइते उनलाई तत्काल उद्दार गरी हेटौंडा अस्पताल लगिएको थियो । उनको हेटौंडा अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि चितवनको पुरानो मेडिकल कलेज भरतपुरमा लगिएको थियो । उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

उक्त घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।