चार जना वरिष्ठ प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह

तु खबर संवाददाता
२०८१ बैशाख ३०, आईतवार १६:१४

काठमाडौं । हालै बढुवा भएका चार जना वरिष्ठ प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्रहरी अतिरिक्त महानिरीक्षकद्वय उमेश राज जोशी र भिम प्रसाद ढकाल तथा प्राविधिक प्रहरी नायव महानिरीक्षकद्वय डा. देउती गुरूङ र ई. नबिन्द अर्याललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।

उनीहरुलाई प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ वैशाख २७ गतेको निर्णयअनुसार जोशी र ढकाल प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका थिए ।

यस्तै, नेपाल सरकार उपप्रधानमन्त्री एवम् गृह मन्त्रीस्तरको २०८१ वैशाख २३ गतेको निर्णयअनुसार गुरूङ र अर्याल प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकबाट प्राविधिक प्रहरी नायव महानिरीक्षक पदमा बढुवा भएका थिए ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको सहभागिता रहेको थियो ।