हेटौंडा अस्पतालको विषयलाई लिएर तरुण दलको ध्यानाकर्षण

तु खबर संवाददाता
२०८१ बैशाख ३०,आईतवार १०:४९

मकवानपुर । हेटौंडा अस्पतालको विषयलाई लिएर तरुण दलले ध्यानाकर्षण भएको जनाएको छ ।

अस्पताललाई बागमती प्रदेश सरकारअन्तर्गत् मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्ने तयारी अगाडि बढाएसँगै नेपाल तरुण दलले विज्ञप्ति जारी गर्दै यस विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

तरुण दल जिल्ला अध्यक्ष लिलाराज सापकोटा (सन्तोष) र तरुण केन्द्रीय सदस्य गुरुप्रसाद दाहाल (गोपी) ले संयुक्त रुपमाम विज्ञप्ति जारी गर्दै स्थानीय तथा प्रदेश सरकारको गठन भएसँगै ‘रिफर सेन्टर’को रुपमा रहेको हेटौंडा अस्पतालको सेवामा केही परिवर्तन भइरहेको अवस्थामा प्रदेश सरकारले एक्कासी हेटौंडा अस्पतालको इतिहास मेटाउने गरी प्रतिष्ठानमा विलय गराउने तयारीप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

‘प्रतिष्ठानको आफ्नै भौतिक पूर्वाधार तयार नभएसम्मका लागि हेटौंडा अस्पताललाई प्रयोगशालाका रुपमा लिइने भनेर गरिएको सहमतिमा एकाएक हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नै सम्पूर्ण सम्पत्ति र स्वामित्व हस्तान्तरण गर्ने गरी प्रदेश सरकारले स्वास्थ्य मन्त्रालयमार्फत आरम्भ गरेको प्रक्रिया तत्काल रोक्न हामी जोडदार माग गर्दछौं ।,’ विज्ञप्तिमा भनिएको छ ।

‘राज्यको ठूलो सम्पत्ति, आफ्नै अस्तित्व र गरिमा रहेको तथा दैनिक २ हजारभन्दा बढी नागरिकले उपचार सेवा पाइरहेको हेटौंडा अस्पताललाई प्रतिष्ठानमा गाभ्ने र अस्तित्व नै नामेट पार्ने गरी भइरहेको गतिविधिको हामी घोर भर्त्सना गर्दछौं ।’, विज्ञप्तिमा उल्लेख छ ।

हेटौंडा अस्पतालको भौतिक संरचना र अस्तित्वलाई कायम राख्दै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको आफ्नै छुट्टै संरचना निर्माण गरी हेटौंडामै सर्वसुलभरुपमा चिकित्सा शिक्षा पढाउने वातावरण निर्माण गर्न तरुण दल आवश्यक सहयोग गर्ने विज्ञप्तिमार्फत् प्रतिबद्धता समेत जनाइएको छ ।

हेटौंडा अस्पताल मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत गाभिएको खण्डमा तरुण दल आन्दोलनमा उत्रन बाध्य हुने केन्द्रीय सदस्य दाहालले जनाए ।