भीमफेदीमा प्रभावकारी बन्दै पीजीएस प्रणाली

तु खबर संवाददाता
२०८१ बैशाख २८,शुक्रबार १८:२१

मकवानपुर । भीमफेदी गाउँपालिकाका किसानहरुले अवलम्वन गरेको स्वच्छ उत्पादनको लागि सहभागितामुलक सुनिश्चितता प्रणाली (पीजीएस ) को अभ्यासबारे समीक्षा गर्दै अबकार्यदिशाबारे आज छलफल गरिएको छ ।

भीमफेदी–५ सुपिङस्थित शिवशक्ति कृषि सहकारी संस्थाको आयोजनामा स्थानीय जनप्रतिनिधि, राष्ट्रिय कृषक समूह महासंघ, साना किसान समूह तथा कृषि सहकारीका अध्यक्ष एवम् प्रतिनिधि तथा कृषकहरुकोे उपस्थितिमा पीजिएसको कार्यान्वयनको अवस्था र त्यसको प्रभाव लगायतका विषयमा समीक्षा गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले कृषकहरुलाई जैविक खेतीतर्फ उन्मुख गराउने उद्देश्यका सञ्चालित पीजीएस कार्यक्रमबाट किसानहरु मात्रै नभई आम उपभोक्ताहरु पनि लाभान्वित भइरहेको बताए ।

उनले भीमफेदीलाई अर्गानिक उत्पादनको हब बनाउन पीजीएस कार्यक्रम प्रभावकारी मानिएको भन्दै किसानहरुलाई जैविक खेतितर्फ लाग्न आह्वान गरे । उनले कृषि उत्पादनको क्षेत्रमा गाउँपालिकाले कृषकसँग सहकार्य गर्दै आवश्यक सहयोग गर्न तयार रहेको बताए ।

त्यस्तै उपाध्यक्ष सन्जिव श्रेष्ठले पछिल्लो समय कृषि उत्पादनमा विसादीको बढ्दो प्रयोगले मानव स्वास्थ्यमा गम्भिर असर पुगिरहेकोतर्फ चिन्ता व्यक्त गर्दै जैविक खेतिको माध्ययमबाट कृषि उद्यमशिलता विकास गर्न सुझाव दिए ।

उनले गाउँपालिकाबाट पीजीएस कार्यक्रमको लोगो प्रमाणित गर्ने कार्य अन्तिम चरणमा पुगेको समेत बताए ।

कार्यक्रममा राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष पञ्चकाजी श्रेष्ठ र भीमफेदी ५ का वडा अध्यक्ष जहार सिं लामाले कृषि क्षेत्रको प्रर्वद्धनका लागि थुप्रै रचनात्मक कार्यक्रमहरुमा सहकार्य गर्न तयार रहेको बताए ।

कार्यक्रममा वक्ताहरुले पीजीएस कार्यक्रम बारे कृषकहरुलार्य थप प्रष्ट पार्दै कृषि उत्पादन संकलन केन्द्रको स्थापना गर्नुपर्ने, बाँझो जमिन राख्न नहुने, विषादीको प्रयोग घटाउँदै लैजानुपर्ने विषयमा जोड दिएका थिए ।

शिवशक्ति कृषि सहकारीले २०२३ को जनवरीबाट २०२४ मार्च सम्ममा पोखरा, सिन्धुली, काठमाडौँ र मकवानपुरलगायत क्षेत्रमा २४ पटक किसान चौतारी कार्यक्रम सञ्चालन गरी कृषकहरुलाई पर्यावरणमैत्री कृषि अभ्यासद्वारा स्वच्छ उत्पादनको व्यवहारिक अध्यास गराउन मद्धत पुर्याएको थियो ।

यो अवधिमा पीजीएस प्रणालीलाई पालिकास्तरमा नीतिगत र व्यवहारिक रुपमा अवलम्वन गराउन सफल भएको र स्वच्छ उत्पादनको बजारीकरणमार्फत् उद्यमशीलता प्रवद्र्धन गरिएको सहकारीका अध्यक्ष गिरीराज पुडासैनीले बताए ।

सो अवसरमा नेपाल फलफूल तथा तरकारी व्यवसायी संघका पूर्व अध्यक्ष खड्गबहादुर मुक्तान, जिल्ला समन्वय समितिकी पूर्व उपसभापति भगवती पुडासैनी, प्रहरी निरीक्षक सञ्चता सचिता थापा, सहकारीका सचिव प्रल्हाद पुडासैनीलगायतले धारणा प्रस्तुत गरेका थिए । साथै कृषकहरुले उत्साहका साथ पीजीएस प्रणालीलाई निरन्तरता दिइने प्रतिक्रिया दिए ।

कार्यक्रममा खैंजडी भजन तथा दोहोरीमार्फत् कृषकहरुलाई कृषिसँग सम्बन्धित विभिन्न विषयमा जानकारी गराएको थियो ।