बागमती प्रदेशः आगलागीमा परेर निधन भएका परिवारलाई एक लाख राहत

मकवानपुर । बागमती प्रदेश सरकारले आगलागीमा परेर निधन भएका पीडित परिवारलाई राहत स्वरुप एक लाख रुपैयाँ दिने भएको छ ।
प्रदेशको आइतबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।
बैठकले केही दिनअघि प्रदेशको ललितपुर र रामेछाप जिल्लामा वनका लागेको आगो नियन्त्रणमा लिने क्रममा मृत्यु भएका तीन जनालाई जनही एक/एक लाख रुपैयाँका दरले राहत स्वरुप उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए ।
उनका अनुसार, उक्त रकम आन्तरिक मामिला तथा कानुन मन्त्रालयको विपद् व्यवस्थापन कोषमार्फत् उपलब्ध गराउनेछ ।
प्रदेशको ललितपुरका दुई जना र रामेछाप जिल्लाका एक जनाको वनमा लागेको आगो नियन्त्रणमा लिने क्रममा मृत्यु भएको थियो ।