ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

तु खबर संवाददाता
२०८१ बैशाख २३, आईतवार १०:३१
सांकेतिक तस्वीर

डडेल्धुरा । डडेल्धुरामा गएराति ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धादिङको गजुरी गाउँपालिका–७ का ४० वर्षीय चालक धिरज थापामगर र रोडाङ गाउँपालिकाका २७ वर्षीय विष्णु विक रहेका छन् ।

प्रहरीका अनुसार, जिल्लाको नवदुर्गा गाउँपालिका–४ सिरोडको भित्री सडकमा बागमती प्रदेश०१–००१क ९६५१ नम्बरको ट्रयाक्टर दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर दुबै जना गम्भीर घाइते भएका थिए । घाइते दुबै जनाको उपचारको क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो ।

यस्तै, सोही दुर्घटनामा परेर धादिङको रोडाङ गाउँपालिकाका ३१ वर्षीय सुदीप विक र डडेल्धुरा नवदुर्गा गाउँपालिका–४ का २८ वर्षीय हिक्मत विक घाइते भएका छन् । उनीहरूको पनि सोही अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।