बागलुङको ३८ वनमा आगलागी

बागलुङ । बागलुङ जिल्लाको ३८ वनमा आगलागी भएको छ । जिल्लामा फागुन महिनायता मात्रै ३८ वटा वनमा आगलागी भएको डिभिजन वन कार्यालय बागलुङले जनाएको छ ।
वन कार्यालय बागलुङका अनुसार, तीमध्ये अझै १५ वनमा लागेको आगो नियन्त्रण बाहिर रहेका छन् ।
बागलुङमा पहिलो पटक फागुन ९ गते बरेङ गाउँपालिका २ को सल्लेरी सामुदायिक वनमा भीषण आगलागी भएको थियो । सो आगो गाउँले र प्रहरीको सक्रियतामा नियन्त्रणमा आएको थियो ।
त्यसयता गलकोट नगरपालिकाका एक दर्जन वनमा आगलागी भयो । उक्त आगो एक सातापछि नियन्त्रणमा आयो ।
त्यसलगत्तै ताराखोला, ढोरपाटन र निसीखोला गाउँपालिकाको दुई दर्जन बढी वनमा आगलागी भइसकेको छ । दिनप्रति दिन आगलागी हुँदै गएपछि थुप्रै वन जंगल मासिएको छ ।
जिल्लामा आगलागीका कारण हालसम्म मानवीय क्षति भने नभएको डिभिजन वन कार्यालय बागलुङकी सूचना अधिकारी लक्ष्मी केसीले जानकारी दिइन् । उनका अनुसार, आगलागीमा परेर कयौँ घरगोठ र पशुचौपाय जलेको छ ।
हालसम्म १ हजार दुई सय हेक्टरभन्दा बढी जंगलमा आगलागी भएको जनाइएको छ ।