महिला र पुरूष मृत अवस्थामा फेला

तु खबर संवाददाता
२०८१ बैशाख ११, मंगलवार १५:५५
file-photo

जनकपुर । जनकपुरको रामानन्दचोकस्थित एक होटलमा आज बिहान महिला र पुरुष मृत अवस्थामा फेला परेका छन् ।

होटेल होलिडे एण्ड गेष्ट हाउसमा एक महिला र पुरुष मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

महोत्तरीको पिपरा गाउँपालिका–३ का ३१ वर्षीय हितेन्द्र पासवान र माइत पिपरा नै भएकी महोत्तरीको लोहारपट्टी नगरपालिका ४ खट्टाकी अन्दाजी २५ वर्षीया प्रियंका कापर मृत अवस्थामा फेला परेका हुन् ।

प्रहरीका अनुसार, दुबै जना झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । उनीहरु होटलको कोठा नम्बर २०५ मा मृत भेटिएका हुन् ।

ती महिलाको साढे २ वर्षकी छोरी रोइरहेको आवाज सुनिएपछि झ्यालबाट हेर्दा वयस्कहरु झुण्डिएको देखेपछि होटल संचालकले प्रहरीलाई खबर गरेका थिए ।

धनुषाको प्रहरी टोली घटनास्थलमा पुगेर ढोका फोडेर बालिकालाई बाहिर निकालेको छ ।

उनीहरु चार दिनदेखि उक्त होटेलमा बस्दै आएका थिए । मृतक पुरूषको चार र महिलाको १ सन्तान छन् ।

उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।