प्रहरी महानिरीक्षक कुँवर फ्रान्स प्रस्थान
काठमाडौं । नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) काठमाडौं नेपालका प्रमुख प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर सोमबार फ्रान्स प्रस्थान गरेका छन् ।
महानिरीक्षक कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा संचालन हुने १९ औं ‘हेड अफ एनसिबी कन्फरेन्स’ मा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन् ।
हेड अफ एनसिबी कन्फरेन्समा इन्टरपोलका सम्पूर्ण १९६ सदस्य राष्ट्रहरूका एनसीबी प्रमुखहरू, इन्टरपोल महासचिव तथा पदाधिकारीबीच समन्वय एवम् सहकार्यको विषयहरूमा छलफल हुने जनाइएको छ ।
साथै सहभागिताको क्रममा समसामयिक घटना, अपराध अनुसन्धानको विषय तथा सम्बद्ध प्रहरी कर्मचारीको क्षमता अभिवृद्धिका विषयहरूमा छलफलको लागि मित्रराष्ट्रहरू भारत, चीन, जापान र मलेसियाका प्रतिनिधिहरूसँग द्विपक्षीय बैठक गर्ने कार्यसूची समेत रहेको छ ।
