दुर्घटनामा परेर हेटौंडाका बिडारीको मृत्यु
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १०, बसपार्क पिपलबोटस्थित पूर्व–पश्चिम सडकखण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ थानाभर्याङ बस्ने ५५ वर्षीय भिमबहादुर बिडारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार, वैशाख ८ गते शनिबार अपराह्न ४ बजेको समयमा कर्राबाट बसपार्कतर्फ आउँदै गरेको बा.प्र.०३–००५ प ३५११ नं. को स्कुटरलाई विपरित दिशातर्फ जाँदै गरेको प्र.२–०३–००१ ख ६८५४ नं. टिफरले ठक्कर दिएको थियो ।
टिफरको ठक्करबाट स्कुटर चालक बिडारी गम्भीर घाइते भएका थिए । घाइते उनलाई तत्काल उद्दार गरी हेटौंडा अस्पताल लगिएकोमा उपचार सम्भव नभएपछि चुरेहिल अस्पतालमा रिफर गरिएको थियो ।
बिडारीको चुरेहिल अस्पतालमा पनि उपचार गर्न कठिनाई भएपछि सोही दिन साँझ ८ बजेको समयमा चितवनको नयाँ मेडिकल कलेज भरतपुरमा रिफर गरिएको थियो । उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा आज बिहान साढे १२ बजे मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रहरीले टिफर चालक र स्कुटरलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाइएको छ ।
