बागमती प्रदेश सरकारद्वारा पूर्व बजेट छलफलको आयोजना

तु खबर संवाददाता
२०८१ बैशाख ३, सोमबार ०८:४३

हेटौंडा । बागमती प्रदेश सरकारले आइतबार पूर्व बजेट छलफल कार्यक्रमको आयोजना गरेको छ । प्रदेशको आर्थिक मामिल तथा योजना मन्त्रालय हेटौंडाले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट तयारीका लागि उक्त छलफल कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता, प्रदेश सरकारका तुलनात्मक लाभका क्षेत्र, प्रदेश सरकारको राजस्व दायरा विस्तार, पन्ध्रौं योजनाका लक्ष्य र प्रदेश सरकारको बजेटको तादात्म्यता, दिगो विकासका स्थानीयकरणका पक्षहरूबारे छलफल भएको थियो ।

यस्तै, कार्यक्रममा अति कम विकसित क्षेत्रहरूलाई प्राथमिकता, आयोजना व्यवस्थापन र परियोजना चक्रका सुधारका क्षेत्रहरू र नवीन तथा रणनीतिक महत्वका संभावित आयोजना र कार्यक्रमहरूमाथि पनि छलफल भएको थियो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शालिकराम जम्कट्टेलले व्यक्तिलाई अनुदान दिने प्रणालीलाई अवलम्बन नगरी अब समुदायलाई नै अनुदान तथा ऋण दिने नीति ल्याइएको बताए । उनले महिलाको उद्यमशीलतालाई जोड दिने, दलित र चेपाङ समुदायलाई विशेष ध्यान दिने र हरेक वर्ष कार्यक्रम नफेरी निरन्तरता दिने बताए ।

यस्तै, कार्यक्रममा बोल्दै आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले बजेट सन्तुलित र समानुपातिक ढङ्गमा विनियोजन गर्ने बताए । बजेट खर्चलाई बढी न्यायोचित र दीर्घकालीन प्रभाव पार्ने गरि अगाडि बढ्ने मन्त्री थपलियाको भनाई छ ।

स्थानीय र संघीय सरकारबीच समन्वय गरेर विकास निर्माण कार्यलाई संस्थागत गर्ने बताउँदै मन्त्री थपलियाले उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गरि बजेटलाई कार्यान्वयनमा लाने दृढता व्यक्त गरे ।

मन्त्रालयले छलफलबाट प्राप्त सुझावहरूलाई आत्मसात गर्दै प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट तयार पार्नेछ ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका संसदीय दलका सचेतक, प्रदेश सभाका सदस्य, विभिन्न आयोगका प्रतिनिधि, मन्त्रालयका सचिव र उपसचिवलगायत अन्य बिज्ञहरु एवम् मन्त्रालयका विभिन्न शाखामा कार्यरत कर्मचारीहरुको सहभागीता थियो ।