ट्याक्सी दुर्घटना हुँदा बेपत्ता भएका युवकको शव भेटियो
चितवन । बुवाको अन्तिम संस्कार गरेर फर्किने क्रममा ट्याक्सी दुर्घटना हुँदा बेपत्ता भएका युवकको शव आज बिहान त्रिशूली नदीमा भेटिएको छ ।
यही चैत्र १७ गते बिहान चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ५ सिमलधारा भन्ने ठाउँबाट बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूलीमा खसेको थियो ।
उक्त ट्याक्सी त्रिशुलीमा खस्दा बेपत्ता भएका गोरखा –७ पौवाखेतका १८ बर्षीय विवश रोका ५ दिनपछि आज मृत अवस्थामा भेटिएको हो ।
सशस्त्र प्रहरीको खोजी टोलीले इच्छाकामना गाउँपालिका ६ कालीखोला नजिकै नदीमा पानीले शव घुमाइरहेको अवस्थामा उनको शव फेला पारेको हो ।
उनको शव प्रारम्भिक अनुसन्धान पुरा गरी पोष्टमार्टमको लागि गोरखा पठाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार, चैत्र १६ गते क्यान्सर रोगबाट मृत्यु भएका बुवा शंकर रोकाको अन्तिम संस्कार गरेर गोरखा फर्कने सो ट्याक्सी दुर्घटनामा परेको थियो ।
उक्त दुर्घटनामा परेर गोरखा नगरपालिका–७ का ९ वर्षीय बालक आगमन नगरकोटी, ७० वर्षीया जुनकिरी रोका, २९ वर्षीया अन्जना रोका, ४१ वर्षीया हरिमाया रोका र ३२ वर्षीय अर्जुन सिर्मलको मृत्यु भएको थियो । उनीहरु एकै परिवारका हुन् ।
