मकवानपुरमा मयूरी दुर्घटना, नेपाली सेनामा कार्यरत दुई जना घाइते

तु खबर संवाददाता
२०८० चैत्र २१, बुधबार १०:३१

मकवानपुर । हेटौंडा–भीमफेदी सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं.१ मा मंगलबार मयुरी दुर्घटना हुँदा नेपाली सेनामा कार्यरत दुई जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा खलम्जुङ मर्स्याङदी–४ घर भई नेपाली सेनाको चनमन ब्यारेक पालुङ मकवनापुरमा कार्यरत सिपाही २५ वर्षीय लिलिजङ गुरुङ र धादिङ खनियाबास–३ घर भई नेपाली सेनाको त्रिनेत्रगण सुनाचुरी मकवानपुरमा कार्यरत अमलदार ३० वर्षीय धनबहादुर तामाङ रहेका छन् ।

सुपारीटार ब्यारेकबाट हेटौंडातर्फ आउँदै गरेको ना.१ ह ३२३० नम्बरको मयुरी (सिटि रिक्सा) आफै अनियन्त्रित भएर दुर्घटना हुँदा उनीहरु घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार, घाइते दुबै जनाको हेटौंडा मोडल अस्पतालमा उपचार गरिएको छ ।

प्रहरीले मयुरी र मयुरी चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।