पेट्रोलको भाउ बढ्यो

तु खबर संवाददाता
२०८० चैत्र १९,सोमबार ०९:३४

काठमाडौं । नेपाल आयल निगमले पेट्रालको भाउ बढाएको छ । निगमले आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य बढाएको हो ।

निगमले डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य भने बढाएको छैन ।

इण्डियन आयल कर्पोरेसनले पठाएको नयाँ खरिद मुल्यअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ७६ पैसा बढेको आयल निगमले जनाएको छ ।

निगमका अनुसार, डिजेल र मट्टितेलमा ३९ पैसा घटेको छ ।

यस्तै, एलपी ग्यासमा प्रतिसिलिण्डर २७ रुपैयाँ ४४ पैसा मूल्य घटेर आएको छ । तर, अहिले पनि एलपी ग्यासमा २९६ रुपैयाँ १५ पैसा घाटा रहेको भन्दै मूल्य हेरफेर नगर्ने निर्णय गरेको जनाइएको छ ।