कर्णाली पुलबाट हाम फाल्ने युवक मृत भेटिए

तु खबर संवाददाता
२०८० चैत्र १५, बिहीबार १७:२८
file-photo

काठमाडौं । कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका युवक मृत अवस्थामा भेटिएका छन् ।

गत सोमबार कर्णाली पुलबाट हाम फालेका कैलालीको लम्की–चुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाही मृत अवस्थामा भेटिएका हुन् ।

उनको शव बिहीबार टिकापुर–२ संकटी घाटमा भेटिएको कैलाली प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, शाहीको शव दुर्घटनास्थलबाट करिब १५ किलोमिटर तल भेटिएको हो ।

घटनालगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले बेपत्ता शाहीको खोजी थालेको थियो ।

उनको खोजीका लागि सशस्त्र प्रहरीको वैद्यनाथ बाहिनी अत्तरियाबाट सात जनाको गोताखोर टोली परिचालन गरिएको थियो ।

पुलबाट हाम फालेका १७ जनामध्ये शाही मात्र नदीमा डुबेर बेपत्ता भएका थिए । हाम फाल्ने अन्य व्यक्ति भने पौडी खेलेर बाहिर निस्केका थिए ।

पुलबाट हाफ फाल्नुअघि उनीहरूले चिसापानीमा मदिरा सेवन गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।

प्रहरीले पुलबाट हाम फाल्ने आठ जनालाई नियन्त्रणमा लिई उक्त घटनाबारे आवश्यक अनुसन्धान तथा सोधपुछ गरेको थियो ।