श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या

तु खबर संवाददाता
२०८० चैत्र ७, बुधबार १०:०५

मोरङ । मोरङको बेलबारीमा मंगलबार राति एक पुरुषले श्रीमतीको हत्या गरेर आफुले पनि आत्महत्या गरेका छन् ।

जिल्लाको बेलबारी नगरपालिका–१, भेडाटोलमा बस्दै आएका ६० वर्षीय बमबहादुर लिम्बूले श्रीमतीको हत्या गरेपछि आफुले पनि आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरीका अनुसार, राति करिब १ बजेको समयमा बमबहादुरले श्रीमती ४५ वर्षीया गीता लिम्बूलाई धारिलो हतियार (दाउ) ले प्रहार गरेका थिए । बमबहादुरले धारिलो हतियार प्रहार गर्दा गीताको घटनास्थलमै मृत्यु भएको हो ।

त्यस लगत्तै बमबहादुरले पजि त्यही दाउले आफ्नो घाटी रेटेर आत्महत्या गरेको देखिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । आफ्नै घाटी रेटेका बमबहादुर भने अचेत अवस्थामा भेटिएको र उद्दार गरी उपचारको लागि नोबेल मेडिकल कलेज लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

बमबहादुरले आफ्नो छोरालाई पनि आक्रमण गर्न खोजेका थिए । छोराले भने भागेर ज्यान जोगाएका थिए ।

मृतकहरु निर्मला राईको घरमा ४ वर्षदेखि डेरामा बस्दै आएका थिए । उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुन्धान गरिरहेको जनाएको छ ।