टिपर दुर्घटना हुँदा हेटौंडाका वाईबा घाइते
मकवानपुर । त्रिभुवन राजपथ अन्तरगत पर्ने मकवानपुरको भीमफेदी गाउँपालिका–१ खोप्लाङमा सोमबार टिपर दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।
घाइते हुनेमा टिपर चालक हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ भोर्ले बस्ने ४३ वर्षीय बिर बहादुर वाईबा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
उनका अनुसार, रिद्धि–सिद्धि सिमेन्ट फ्याक्ट्रीको ढुङगा खानीबाट ढुङगा लिई फ्याक्ट्रीतर्फ आउँदै गरेको ना ८ ख ८९१० नम्वरको टिप्पर आफै अनियन्त्रित भई रोडबाट अन्दाजी २० मिटर तल खसी दुर्घटना हुँदा च्यापिएर वाईबा घाइते भएका हुन् ।
घाइते उनलाई जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा ट्राफिकसहितको टोली र नेपाली सेनाको मध्य पृतना हेड क्वाटर सुपारेटार ब्यारेकबाट टोली खटी गई उद्धार गरेर उपचारको लागि हेटौंडा ल्याइएको छ ।
उनको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको र घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।
