मकवानपुरका १२४ घरपरिवारलाई जग्गाधनी पूर्जा

मकवानपुर । मकवानपुरका १२४ घरपरिवारलाई जग्गाधनी पूर्जा (लालपूर्जा) वितरण गरिएको छ ।
राष्ट्रिय भूमि आयोग मकवानपुरले शुक्रबार पत्रकार सम्मेलनमार्फत् आयोग गठन भएको यो अवधिमा १२४ घरपरिवारलाई लालपूर्जा वितरण गरेको जानकारी गराएको हो ।
आयोगले जिल्लाको बागमती गाउँपालिकाका ४ र बकैया गाउँपालिकाका २ गरी ६ जना भूमिहिन दलितलाई लालपूर्जा दिएको हो ।
यस्तै, बागमतीका ३५ र बकैयाका ९ गरी ४४ भुमिहिन सुकुम्बासीलाई लालपूर्जा वितरण गरेको आयोगले जनाएको छ ।
यसैगरी, हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडामा गरी ६९ र बागमती गाउँपालिकामा ५ गरी ७४ अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गरिएको हो ।
राष्ट्रिय भूमि आयोगको सूचना प्रणालीमा मकवानपुरका स्थानीय तहले ३४० भूमिहिन दलित, २ हजार २६० भूमिहिन सुकुम्बासी, १४ हजार ६५० अव्यवस्थित बसोबासी र सट्टाभर्ना २ जना गरी १७ हजार २ सय ५२ निवेदनको तथ्यांक प्रविष्ट गरेको जानकारी दिएको छ ।
भूमिहिन दलित र सुकुम्बासीलाई निःशुल्क र अव्यवस्थित बसोबासीलाई जिल्ला समितिको निर्णयले निर्धारण गरेको राजस्व दाखिला गराई लालपूर्जा वितरण गर्दै आएको छ ।