लुम्बिनीमा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लियो
काठमाडौँ । लुम्बिनीमा माओवादी केन्द्रले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको बुधबार बसेको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक इन्द्रजित थारुले समर्थन फिर्ता लिएको जानकारीसहितको पत्र मुख्यमन्त्रीको सचिवालयमा बुझाएको जानकारी दिए ।
१० दल र एक स्वतन्त्र सांसद सहित ८७ सदस्यीय प्रदेश सभामा माओवादी केन्द्रका ११ सांसद छन् । माओवादीले समर्थन फिर्ता लिएपनि मुख्यमन्त्रीको पक्षमा बहुमत कायमै छ ।
माओवादीले समर्थन फिर्ता लिएसंगै पार्टीबाट सरकारमा सहभागी २ जना मन्त्रीले बुधबार नै राजीनामा दिने तयारी गरेको सो पार्टीले जनाएको छ । माओवादीबाट धनबहादुर मास्की राना र कृष्णा केसी मन्त्री छन् ।



