धारिलो हतियार प्रहार गरी किशोरीको हत्या
विराटनगर । मोरङको पथरीशनिश्चरे ७ लामा टोलीस्थित शौचालय गएकी ज्ञानमति थुलुङ राईको गएराति हत्या भएको छ ।
सुत्नुअघि शौचालय जाने क्रममा बसेकै घरको कम्पाउण्डमा राति १०ः३० बजेतिर अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गरी राईको हत्या गरेको मोरङ प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, हतियार प्रहारबाट गर्धन, अनुहार र दाहिने पाखुरामा गहिरो चोट लागेको अवस्थामा ज्ञानमतिको शव भेटिएको हो ।
घटनामा संलग्नको पहिचान हुन नसकेको र मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्की नेतृत्वको टोली घटनास्थलमा खटि आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
साथै प्रहरीले घटनाको अनुसन्धानमा तालिमप्राप्त कुकुरको समेत प्रयोग गरेको छ ।
प्रहरीले घटनास्थलबाट उठाएर शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेको छ ।
खोटाङको ऐँसेलुखर्क गाउँपालिका–६ सल्ले घर भएकी राई ज्ञानमति पथरीशनिश्चरे नगरपालिका–७ लामा टोलीस्थित दाजु (मामाको छोरा) विनोद राईको घरमा २ वर्षदेखि बस्दै आएकी थिइन् ।
प्रहरीका अनुसार उनी पथरीशनिश्चरे–१ मा रहेको पञ्चायत माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत थिइन् । ज्ञानमतिका मामाका छोरा विनोदले आफ्नो घरमा सुम्निमा होटल नामको खाजा नास्ता पसल पनि संचालन गरेका छन् ।
२ वर्षअघि पहाडबाट झरेकी ज्ञानमति नास्ता पसलमा दाजुलाई सहयोग गर्दै उनकै घरमा बसेर पढ्ने गरेको खुलेको प्रहरीले जनाएको छ ।
