हेटौंडामा एकैदिन दुई वटा सामुदायिक विद्यालय बालमैत्री घोषणा हुँदै

तु खबर संवाददाता
२०८० फाल्गुन २१, सोमबार १०:५३

मकवानपुर । हेटौंडामा एकैदिन दुई वटा सामुदायिक विद्यालय बालमैत्री घोषणा हुने भएको छ । हेटौंडा–८, कमानेस्थित चन्द्रोदय मावि र हेटौंडा–१६, स्थित नजप्रिय माविले भोलि फागुन २२ गते मंगलबार बालमैत्री घोषणा गर्ने भएको हो ।

ती दुबै सामुदायिक विद्यालयले आइतबार पत्रकार सम्मेलन गरी सो बारे जानकारी गराए । उपमहानगरपालिकाले तोकेको सबै मापदण्ड पूरा गरेकोले बालमैत्री विद्यालय घोषणाको प्रक्रिया  पूरा भएको जनाइएको छ ।

पत्रकार सम्मेलनमा चन्द्रोदय माविका प्रधानाध्यापक जिधराज ढकालले उपमहानगरपालिका, स्थानिय सरकार र राष्ट्रिय सहजकर्ताको विभिन्न समयको अनुगमन पश्चात आफ्नो विद्यालय बालमैत्री घोषणाको चरणमा पुगेको बताए ।

यस्तै, पत्रकार सम्मेलनमा विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चौलागाईँले घोषणा मात्रै नभएर दीर्घकालिन रुपमा कार्यान्वयनमा ल्याउन समेत विद्यालयले योजना बनाएको बताए ।

बालबालिकाको सर्वाङ्गिण विकास गराउन बाल अधिकारका क्षेत्रहरुलाई अक्षरशः पालना गर्नुपर्ने बताउँदै प्रधानाध्यापक चौलागाईँले विद्यालयले बालमैत्री विद्यालयका सबै सूचक पूरा गरेको बताए ।