दुर्घटनामा परेर मकवानपुरका अधिकारीको मृत्यु

तु खबर संवाददाता
२०८० फाल्गुन १९, शनिबार ०९:३२
file photo

मकवानपुर । हेटौंडा–नारायणगढ सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ९, ज्यामिरेमा आज बिहान जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय अन्दाजी ५० वर्षीय सिताराम अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक (प्रवक्ता) लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, बिहान पौने ७ बजेको समयमा हेटौंडाबाट बुटवलतर्फ जाँदै गरेको लु २ च ७३२७ नम्वरको जिपले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।

घाइते उनलाई स्थानीय मेडिकल मनहरीमा सामान्य उपचारपश्चात थप उपचारको लागि चितवनको भरतपुरस्थित पुरानो मेडिकल कजेलमा लागिएको भएपनि चिकित्सकले मृत घोषणा गरिएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

प्रहरीले ठक्कर दिने जिप र चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।