टिपरले टाटा सुमोलाई ठक्कर दिँदा तीन जनाको मृत्यु
विराटनगर । मोरङको बेलबारीमा आज बिहान टिपरले टाटा सुमोलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । बेलबारी नगरपालिका–३ स्थित पुरानो मालपोत जाने बाटोमा भएको उक्त दुर्घटनामा परेर एक जनाको उपचारको क्रममा र दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
आज बिहान ६ः३० बजेतिर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९६७६ नम्बरको ट्रिपरले पश्चिमतर्फ आउँदै गरेको मे १ झ २८५६ नम्बरको सुमोलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा परेर झापा कमल गाउँपालिका–२ का ५२ वर्षीय यदुकान्त भट्टराई र सोही ठाउँ बस्ने वर्ष ४४ कि दिपा खनालको घटनास्थलमै भएको भएको हो भने सुमो चालक झापा बिर्तामोड २ का ३६ वर्षीय कृष्ण गजुरेलको उपचारका क्रममा मृत्यु भएको हो । उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, बागमती प्रदेश ०३–००१ ख २७१८ नम्बरको यात्रुबहाक बसमा पनि सुमो ठोकिएको थियो ।
सोही दुर्घटनामा परी अन्य दुई जना घाइते भएका छन् । उनीहरुको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । एक जनाको अवस्था भने चिन्ताजनक रहेको जनाइएको छ ।
