महिलाको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ

तु खबर संवाददाता
२०८० फाल्गुन १०,बिहीबार १८:१७

काठमाडौं । सामाजिक संजालमार्फत महिलाको चरित्रहत्या गरेको अभियोगमा प्रहरीले बुधबार एक जनालाई पक्राउ गरेको छ । प्रहरीले नुवाकोट शिवपुरी गाउँपालिका–४ घर भई काठमाडौं टोखा नगरपालिका–११ बानियाटार बस्ने २७ वर्षीय किरण थापालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, सामाजिक सञ्जाल फेसबुक म्यासेन्जर मार्फत गोप्य फोटो तथा भिडियो सामाग्री एक आपसमा साटासाट भएको र सम्बन्ध विग्रिएपछि पीडकले उक्त फोटो एवम् भिडियो पीडितका आफन्त तथा परिवारजनमा पठाई चरित्रहत्या समेत गरेको भन्ने पीडित महिलाले उजुरी दर्ता गराएकी थिइन् ।

ती महिलाले दिएके उजुरीको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले उनलाई काठमाडौं गोंगबुबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई आवश्यक कारबाहीको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ ।