‘प्रजातन्त्र दिवसले राष्ट्र निर्माणका लागि प्रेरणा प्रदान गरोस्’

तु खबर संवाददाता
२०८० फाल्गुन ७, सोमबार ०९:१०

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रजातन्त्र दिवसले देश विकास, समृद्धि र समुन्नत राष्ट्र निर्माणका लागि प्रेरणा प्रदान गरोस् भनि शुभकामना दिएका छन् ।

आज फागुन ७ मा मनाइँदै गरिएको राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा एक सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले यस्तो शुभकामना दिएका हुन् ।

दिवसका अवसरमा प्रमुख शर्माले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण प्रजातन्त्रप्रेमी नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा शुभकामना व्यक्त गर्नुका साथै नागरिक अधिकार सुनिश्चित गर्दै लोकतान्त्रिक शासन प्रणाली स्थापना गर्नका लागि भएका सबै प्रकारका संघर्षहरूमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

वि.सं. २००७ साल आजैका दिन मुलुकमा जहानियाँ निरङ्कुश शासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएको प्रमुखको सन्देशमा छ । ‘जनताको सङ्घर्षले जीत हासिल गरेको ऐतिहासिक दिनको स्मरण गर्दै आज हामी प्रजातन्त्र दिवस मनाइरहेका छौं ।’ प्रमुख शर्माले भने ।

आज हामीले प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था विगतकै त्याग, तपस्या र बलिदानीको उपलब्धि भएको प्रमुख शर्माको भनाई छ । ‘हाम्रा जनप्रतिनिधीमार्फत प्राप्त गरेको संघीयता, धर्मनिरपेक्षता, समानुपातिक एवं समावेशीतासहितको संविधानको जग २००७ सालको प्रजातान्त्रिक आन्दोलन नै हो ।’

विगतका परिवर्तनकारी आन्दोलन, सङ्घर्ष एवम् गौरवपूर्ण इतिहासलाई सम्मान गर्दै सहिदहरुले मार्ग दर्शन गर्नुभएको सपना एवम् जनआकांक्षालाई मूर्त रुप दिने दिशामा अघि बढ्नु हामी सबैको दायित्व भएको शर्माले बताए ।