दुर्घटनामा परेर ५ जनाको मृत्यु

तु खबर संवाददाता
२०८० फाल्गुन ६, आईतवार १६:११
सांकेतिक तस्वीर

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार, कैलाली, दाङ, तनहुँ, काठमाडौं र सिरहा जिल्लाको विभिन्न स्थानमा भएको दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको हो ।

कैलालीको गौरीगंगा नगरपालिका–९ शंकरपुरमा हाल नम्बर नखुलेको बसले से.३ प ९३ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदा चालक सोही नगरपालिका–८ बडैपुर बस्ने ३९ वर्षीय गोपी नेपालीको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी, दाङको घोराही उपमहानगरपालिका–१८ कालीका टोलमा रा.७ प ३१८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार रुकुम पूर्व भुमे गाउँपालिका–१ बस्ने २७ वर्षीय आदर्श पुनको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई थप उपचारको लागी भैरहवातर्फ रिफर गरिएको छ ।

उता तनहुँको आबुखैरेनी गाउँपालिका–२ नारीघाटस्थित सडकमा बा.१६ च ४९१८ नम्बरको बोलेरो अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा बोलेरोमा सवार चितवन ईच्छाकामना गाउँपालिका–६ बस्ने २२ वर्षीय सागर गुरुङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर अस्पताल चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बोलेरोमा सवार ६ जनाको पुरानो मेडिकल भरतपुर चितवनमा उपचार भइरहेको छ भने १ जना डिस्चार्ज भएका छन् । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी, काठमाडौंको कीर्तिपुर नगरपालिका–६ स्थित सडकमा बा.प्र.०२–०३० प ३८५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई करिब १५ मिटर तल खसेर आइतबार बिहान दुर्घटना हुँदा चालक सोही नगरपालिका–७ भाजंगल घर भएका २४ वर्षीय सबुन महर्जनको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै, सिरहाको नरहा गाउँपालिका–५ बलुवा चोकस्थित सडकमा स.९ प ४६३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार विष्णुपुर गाउँपालिका–२ कौवाहा बस्ने २८ वर्षीय राम दयाल यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको आरके मेडिसिटी अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।