जिप दुर्घटनामा परेर एक जनाको मृत्यु, दुई घाइते

तु खबर संवाददाता
२०८० फाल्गुन ४, शुक्रबार ०९:०७
सांकेतिक तस्वीर

बझाङ । बझाङको तल्कोट गाउँपालिकाको साइलाबगड नजिक बिहीबार साँझ जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

तलकोटबाट चैनपुर आइरहेको से १ ज ८६८ नं.को जिप दुर्घटना हुँदा तलकोट–१ की सुस्मिता कठायतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रहरीका अनुसार, दुर्घटनामा परेर गम्भीर घाइते भएकी सुस्मितालाई उपचारका लागि जिल्ला अस्पताल चैनपुरमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

यस्तै, सोही दुर्घटनामा परेर दुई जना घाइते भएका छन् । घाइते हुनेहरुमा तलकोट–३ का जिप चालक राजेशकुमार कडाल र मष्टा गाउँपालिका–५ का सह–चालक कमल कठायत रहेका छन् ।

उनीहरुको जिल्ला अस्पताल चैनपुरमा उपचार भइरहेको जनाइएको छ । उक्त जिप अनियन्त्रित भएर सडकबाट ७० फिट तल खसेको थियो ।