विश्व कीर्तिमानी धावकको दुर्घटनामा परेर मृत्यु

तु खबर संवाददाता
२०८० माघ २९,सोमबार ०८:४१
file photo

काठमाडौं । पुरुष म्याराथनमा विश्व कीर्तिमानी धावक केन्याका केल्भिन किपटुमको कार दुर्घटनामा परेर मृत्यु भएको छ ।

पश्चिमी केन्यामा भएको दुर्घटनामा परेर २४ वर्षीय केल्भिनको मृत्यु भएको बताइएको छ ।

उनीसँगै उनका प्रशिक्षक रुवान्डाका जार्भिस हाकिजिमान पनि उक्र दुर्घटनामा परेर मृत्यु भएको एएफपी न्यूज एजेन्सीले जनाएको छ ।

एएफपी न्यूज एजेन्सीका अनुसार दुर्घटना आइतबार राति स्थानीय समयअनुसार ११ बजे भएको थियो । दुर्घटनामा अन्य एक जना घाइतेलाई अस्पताल लगिएको छ ।

प्रहरीका अनुसार धावकले नै उक्त कार चलाइरहेका थिए । कारमा नियन्त्रण गुमेपछि दुर्घटना भएको र दुई जनाको घटनास्थलमा नै मृत्यु भएको हो ।

सन् २०२३ मा म्याराथनमा केल्भिनको उदय भएको थियो । गत अक्टोबरमा उनले सिकागोमा आयोजित प्रतियोगितामा इलुड किपचोगेको विश्व कीर्तिमान भङ्ग गरेका थिए । –एजेन्सी