नक्कली मदिरा कारोबार गर्ने दुई जना पुर्पक्षका लागि थुनामा

तु खबर संवाददाता
२०८० माघ २८, आईतवार १६:०९
file-photo

काठमाडौं । काठमाडौंमा कारखाना खोलेर नक्कली मदिराको कारोबार गर्ने दुई जनालाई पुर्पक्षका लागि थुनामा राखेको छ । काठमाडौं जिल्ला अदालतले उनीहरुलाई थुनामा पठाउन आदेश दिएको हो ।

अदालतले रामेछापको खाँडादेवी गाउँपालिका घर भएका २८ वर्षीय मनोज खत्री र ३६ वर्षीय विनोद कुमार कार्कीलाई थुनामा पठाउन आदेश गरेको हो ।

अदालतको आदेशपछि उनीहरूलाई केन्द्रीय कारागार जगन्नाथदेवलमा चलान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

काठमाडौंको थलीमा सञ्चालित नक्कली मदिरा कारखानामा छापा मारेर उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई गत माघ २ गते पक्राउ गरेर अनुसन्धान गरेको थियो ।

कालोबजारी विरुद्धको कसुरमा जेल चलान भएका विनोद मनोज खत्री र विनोद कुमार कार्की मामा–भान्जा हुन् ।

कारखाना सञ्चालक मध्येका सिन्धुली घर भएका २८ वर्षीय गौरव तामाङ ४० हजार धरौटीमा रिहा भएका छन् । पक्राउ गरेर अदालतमा उपस्थित गराइएका एक जना नाबालकलाई ‘जिम्मा जमानी’ मा रिहा भएका छन् ।

अदालतले अभियुक्त सुमन नगरकोटीसँग १ लाख, लेख विक्रम थापासँग ४० हजार, मनिष खत्रीसँग १५ हजार, महेश खत्री १५ हजार र मोहन खड्कासँग १५ हजार धरौटी माग गरेको छ ।