‘सोनाम ल्होछार संसारकै प्राचीन संस्कृति हो’

तु खबर संवाददाता
२०८० माघ २६,शुक्रबार १५:३३
file-photo

तामाङ समुदायको सबैभन्दा ठूलो चाड सोनाम ल्होछारको पूर्वसन्ध्यामा विभिन्न किसिमका विवादहरु पनि सुनिन थालेका छन् । कुन ल्होछार कुन समुदायले मनाउने अथवा सोनाम ल्होछार कुन तिथि मितिमा मनाउनेलगायत विभिन्न विषयमा विवादहरु देखिन थालेका हुन् ।

नेपाल तामाङ घेदुङका नेता एवम् हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ का वडाअध्यक्ष सुनिल मोक्तानले आदिबासी आन्दोलनमा महत्वपूर्ण योगदान दिएका छन् । त्यसैगरी, नेपालको सामाजिक, आर्थिक, राजनीतिक लगायत विविध विषयमा उनीसँग अनुभव पनि छ ।

तामाङ संस्कृतिको जानकार भएको हिसाबले पनि यो सोनाम ल्होछारको विषयमा तु खबरले उनीसँग कुराकानी गरेको छ । प्रस्तुत छ उनीसँग गरिएको कुराकानीको सम्पादित अंश ।

सवालः नेपालमा विभिन्न धर्म सम्प्रदायले मनाउने थुप्रै चाडपर्वहरु छन् । सोनाम ल्होछारको महत्वबारे जानकारी गराइदिनुहोस् न ?

जवाफः धन्यवाद, सोनाम ल्होछार विशेषगरी तामाङ समूदायले मनाउने पर्व हो । ल्हो भनेको वर्ग र छार भनेको नयाँ हो । त्यसकारण ल्होछारको पूरा अर्थ नयाँ वर्ष हो ।

यो पर्व हाम्रो देशमा मात्रै नभई जपान, कोरिया, कम्बोडिया भियतनाम, थाइल्याण्ड, चाइनालगायतका धैरै देशमा मनाइन्छ । यस पर्वमा इष्टमित्र, प्रियजन भेला हुने, नयाँ वर्षको अवसरमा खुसीयाली साटासाट गर्ने, मिठो मसिनो खाने, नयाँ ठाउँमा घुम्न जाने र वर्षको सुरुवाती दिन भएकाले यो दिन जसरी वित्छ, वर्षभरी त्यसैगरी बिताउन पाइन्छ भन्ने विश्वास रहेको पाइन्छ ।

पछिल्लो समय यसलाई सबै समुदायले महत्वका साथ लिँदै आएको पाइन्छ । २८६० अर्थात्, २८ सय वर्ष अगाडिदेखि यो पर्व मनाउँदै आएको पाइन्छ । ल्होछारमा आफुभन्दा ठुलाबढासँग टिका थाप्ने, आर्शिवाद लिने, वाङ लिने र आफ्नो घर वरिपरी सरसफाइ गर्ने, नयाँनयाँ कपडाहरु लगाउने, शुभकामना साटासाट गर्ने, खुसीयाली साटासाट गर्ने गरिन्छ । एउटा समूदायको मात्रै नभई यो सबै समुदायले मिलेर मनाउँदा राम्रो हुन्छ ।

सवालः मिलेर मनाउनुपर्छ भन्नुभयो, अन्य समूदायको सहयोग भइरहेको छ कि छैन ? यस पर्वले अन्य समूदाय र समग्र राष्ट्रको हितमा के कस्तो फाइदा पुगेको छ त ?

जवाफः नेपाल सांस्कृतिक विभिधता भएको देश हो । यहाँ करिब १ सय २४ जातजाति छन् । त्यसैले नेपाललाई सबै जातजाती र धर्म सम्प्रदायका मानिसहरुको साझा फूलबारी पनि भनिन्छ । सबै एउटै मालामा उनिएर देशको शोभा बढाउने काम गर्नुपर्छ जस्तो लाग्छ । धार्मिक सहिष्णुता अभिबृद्धि गर्दै भाइचाराको सम्बन्ध प्रगाढ बनाउन यस्ता पर्वहरुको ठूलो महत्व छ । पर्वहरु मेलमिलापको आधार हो । र अझै यसलाई राष्ट्रिय पर्वको रुपमा बढाउनुपर्ने देखिन्छ ।

तामाङ समुदायको ल्होछार मात्र नभई, हाम्रो देशमा रहेका विभिन्न पिछडिएका समुदायको सँस्कार संस्कृतिकै कारण आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरेका छन् । पर्यटन प्रर्वद्धनमा टेवा पुग्दा व्यापार व्यवसायमा फाइदा पुग्ने, रोजगारीको अवसर सिर्जना हुने र समग्र अर्थतन्त्रमा नै राम्रो प्रभाव पर्ने गर्दछ ।

सवालः तपाईं सामाजिक, राजनितिक क्षेत्रमा कहिलेदेखि लाग्नुभयो ? तामाङ समुदायको हितका लागि स्थापना भएको संस्थामा यहाँको आवद्धता कहिलेबाट भयो ?

जवाफः म करिब ३० वर्ष अघिदेखि सामाजिक, राजनीतिक क्षेत्रमा र नेपाल तामाङ घेदुङसंग आबद्ध भएर काम गरिरहेको छु । २०४८, ०४९ सालदेखि नै यी सबै क्षेत्रमा मेरो सक्रियता रहेको छ ।

राजनीति देशको मूल नीति हो । समाजसेवा पवित्र काम हो । घेदुङ त हामी सबैको संस्था हो । यी सबैको लागि लामो समय पसिना बगाएको छु । आगामी दिनमा राजनीति, समाजसेवा र तामाङ समुदायको अधिकारको लागि निरन्तर लागिरहनेछु ।

सवालः अहिले वडाअध्यक्ष हुनुहुन्छ । केही गरौँ भने गर्न सक्ने स्थानमा पनि पुग्नुभएको छ । समूदायको हित एवम् सम्पूर्ण वडावासीको लागि के गर्नुभयो त ?

जवाफः हामीले आफ्नो समुदाय मात्र भन्दा पनि समग्र देशको सवै जातजातीको लागि समान व्यवहार गर्नुपर्छ । हाम्रो समाजमा धेरै जातजातीहरु मिलेर बसेका छन् । ती सबै जातजातीको उत्थान गर्ने, समूदायमा विकास गर्ने चाहाना मेरो छ । म तामाङ घेदुङको एउटा कार्यकर्ता भइरहँदा मेरो जिम्मेवारी सबैको लागि हो भन्ने कुरा कहिल्यै विर्सिएको छैन । घेदुङ र आफ्नो राजनीतिक, सामाजिक जिम्मेवारीसँगै वडा अध्यक्षको जिम्मेवारीलाई मैले संगसंगै अगाडि बढाइरहेको छु ।

सवालः तपाईँहरु अलि जातीबादी भएको भन्ने आरोप पनि छ नी ?, अनि सत्तामा पुगेकै कारण सर्वहारा जनताको समस्या विर्सिएको आरोप पनि छ, यसबारे के भन्न चाहानुहुन्छ ?

जवाफः हेर्नुहोस्, त्यो त हेर्ने नजरमा फरक पर्छ । बुझ्ने दिमागमा भर पर्छ । हामी कसरी जातीबादी हुन सक्छौँ ?, यो लोकतन्त्र हो, गणतन्त्र हो । हामी यही व्यवस्थाका कारण यहाँसम्म आइपुगेका हौँ । आज हजारौं सहिदहरुको बलिदानको कराण यो व्यवस्था आएको हो । यो व्यवस्थामा आफ्नो सबै जातजाती, धर्म सम्प्रदाय सबैको

जगेर्ना गर्नुपर्छ गर्नुपर्छ भन्ने छ । हामी त्यहि मान्यता अनुसार अघि बढिरहेका छौँ । त्यसकारण जातीबादी भयो भन्ने आरोप गलत हो । मैले विभेदको दृष्टिकोणबाट कसैलाई हेरेको छैन । हेर्नुपनि हुँदैन ।

अर्को कुरा सत्तामा पुगेपछि आम जनताको समस्या विर्सियो भन्नुभयो । त्यस्तो हुनैसक्दैन । किनभने आमालाई विर्सियो भने के हुन्छ ? बुवाले आफ्नो सन्तानलाई विर्सियो भने के हुन्छ ?, त्यसकारण यो गम्भीर कुरा हो । जुन जनताले मन र मत दिएर यहाँसम्म पुर्याउनुभयो । उहाँहरुलाई विर्सिएर म कसरी अगाडि बढ्न सक्छु ।

तपाईँ मेरो नेतृत्वमा वडामा भएका समानुपातिक विकासका कामहरु हेर्नुहोस् । आम जनताको हितमा भएका कामहरु हेर्नुहोस् । त्यसबाटै प्रश्ट हुन्छ नी विभेद गर्यो कि गरेन, सर्वहाराको समस्या विर्सियो कि छैन भन्ने कुरा ।

सवालः घेदुङमा पनि ठूलै विवाद देखिन्छ । खाली राजनीतिक भागबण्डा गर्ने, राम्रो मान्छेलाई अघि बढ्न नदिने परम्परा पुरानै हो । यसबारे केही भन्नुहुन्छ ?

जवाफः यो राम्रो होइन । तर, पछिल्लो समय तपाईँले भनेजस्तै यो संस्कार विकास भएको पाइन्छ । सायद राजनीतिक व्यक्तिले नेतृत्व गर्नुपर्छ भनेर यो परम्परा विकास भएको हुनसक्छ । तर, राजनीतिक व्यक्ति हुनुपर्छ भन्दै गर्दा राम्रो मान्छे ओझेलमा पर्नु हुँदैन भन्ने लाग्छ ।

सवालः राजनीतिक, सामाजिक र तामाङ घेदुङमा आवद्ध हुनुहुन्छ, तपाईँका आगामी योजनाहरु चाँही के–के छन् त ?

जवाफः धेरै कुरा माथि आइसकेका छन् । वडा अध्यक्षको हैसियतमा गर्ने गतिविधि सबैका लागि हुनेछ । सबैलाई समान व्यवहार गरिनेछ । समृद्ध वडा निर्माणका लागि जस्तोसुकै मूल्य चुकाउन तयार छु । बाँकी कुरा कामबाट देखाउँदै लैजानेछु ।

अहिले घेदुङको विभागीय प्रमुखको जिम्मेवारीमा छु । समग्र समूदायको हितका बारेमा अहोरात्र लागिरहनेछु । राजनितिक, शैक्षिक, ब्यावसायि,क आर्थिकलगायत विभिन्न क्षेत्रलाई अगाडि बढाउन लागिरहनेछु ।

हाम्रो विभागीय समूह अन्तर्गत मलाई वन वातावरण र पर्यटन क्षेत्र परेको छ । मैले हाम्रो सँस्कार र सँस्कृतिलाई पर्यटन, व्यवसाय र उद्योगमा जोड्न पहल गरिरहेको छु ।

हामीले सबै व्यवसायी बोलाएर बोलाइएर काठमाण्डौँमा कार्यक्रम पनि गरेका थियौँ । अब फेरी पनि केही कार्यक्रम गर्दछौँ । माथि भनेजस्तै व्यापार व्यवसायमा आवद्ध तामाङ समूदायको डाटा संकलन गर्दैछौँ ।

विदेश पलायन भएका समूदायका मानिसहरुलाई मात्रै नभई सम्पूर्ण समूदायका मानिसहरुलाई देशमा फर्काउने र टिकाउने भन्ने योजना बनाउन तपाईँ हामी सबै लाग्नुपर्छ । मेरा धारणाहरु तु खबरमार्फत् सम्पूर्ण जनतासामु राख्ने अवसर प्रदान गर्नुभयो । म अत्यन्तै आभारी छु ।