दाङमा बस दुर्घटनाः हेटौंडाका बिष्टसहित १२ जनाको मृत्यु

हेटौंडा । दाङको राप्ती नदीमा बस खसेर दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । सोही घटनामा २३ जना घाइते भएका छन् ।
गएराति नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस दाङको राप्ति गाउँपालिकास्थित राप्ती नदीको पुलबाट खसेर दुर्घटना भएको थियो ।
बसमा सवार ३५ यात्रुमध्ये १२ जनाको मृत्यु भएको छ भने २३ जना घाइते छन्।घाइते सबैको परिचय खुलेको दाङका डिएसपी जनक मल्लले जानकारी दिए ।
दुर्घटनामा मृत्यु भएका १२ मध्ये ८ जनाको परिचय खुलेको छ।
मृतकहरूमा बाँके नेपालगंजका ६० वर्षीया कुसुम बनेत, मकवानपुर हेटौडाका ३९ वर्षीय सौरभ बिष्ट, काठमाडौ चन्द्रागिरी नगरपालिका – १५ का ६५ वर्षीय ताराकान्त पाण्डे, भारत उत्तर प्रदेश अतिकुल्ला खैरेका ३१ वर्षीय मुने, जुम्लाको श्रीढुम्का – ९ का ४० वर्षीय मुनबहादुर रावत, बाँकेका ३० वर्षीय रामबरण हरिजन, रुकुमको साबिक गोतामकोट गाबिस – ९ का २५ वर्षीय दपक कामी, भारतको बिहार पूर्बी चम्पारण मलाइका ६७ वर्षीय योगेन्द्र राम जोगेन्द्र राम छन् ।
त्यस्तै नाम थर र वतन नखुलेको अन्दाजी ३५ वर्षीय पुरुष, ५२ वर्षीय पुरुष, ३० बर्षको पुरुष र ४५ वर्षीय पुरुषको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।