हेटौंडामा सातै प्रदेशका मुख्यमन्त्री भेला हुँदै, भोलि विहान छलफल हुने

तु खबर संवाददाता
२०८० पुष १२, बिहीबार १४:४८

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा सातै प्रदेशका मुख्यमन्त्री भेला हुँदै छन् ।

प्रदेश र स्थानीय सरकारको अधिकार बाँडफाँडमा देखिएको समस्याबारे छलफल गर्न र संविधान कार्यान्वयनमा देखिएका चुनौतीबारे अन्तरक्रिया गर्न सबै प्रदेशका मुख्यमन्त्रीहरु हेटौंडा आउन लागेका हुन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज साँझसम्म सबै प्रदेशका मुख्यमन्त्री हेटौंडा आइपुग्ने छन् । भोलि विहानैउनीहरुको सहभागितामा तहगत अधिकारको कार्यविस्तृतिकरण सम्बन्धी गोष्ठी आयोजना गरिएको छ ।

सो अवसरमा तीनै तहका सरकारको साझा अधिकारको विस्तृतीकरण र कानून निर्माण प्रक्रिया, आर्थिक विकास क्षेत्र, सेवा क्षेत्र, पूर्वाधार क्षेत्र र वन वातावरण तथा विपत् व्यवस्थापन क्षेत्रको बारेमा कार्यपत्र प्रस्तुत हुने जनाइएको छ ।

भोलिको कार्यक्रममा सातै प्रदेशका प्रमुख सचिव, मुख्य न्यायधिवक्ता, गाउँपालिका राष्ट्रिय महासंघ, नगरपालिका संघका पदाधिकारीको सहभागिता रहने जनाइएको छ ।

मुख्यमन्त्री कार्यालयका अनुसार छलफलपछी भोलि शुक्रबार साझा प्रतिवेदनसमेत अनुमोदन गरिने भएको छ ।