“संघीयता कमजोर नहुने गरि स्थानीय तहलाई बलियो बनाउनुपर्छ”

तु खबर संवाददाता
२०८० मंसिर १८, सोमबार १६:५६

मकवानपुर । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले संघीय व्यवस्था कमजोर नहुने गरि स्थानीय तहलाई बलियो बनाउनुपर्ने बताएका छन् ।

सोमबार जिल्ला समन्वय समिति मकवानपुरको वार्षिक समिक्षा कार्यक्रमलाई बोल्दै उनले यस्तो बताएका हुन् ।

पछिल्लो समय देशमा तीन वटै तहले आफ्नो अधिकारको मात्रै विषय उठान गर्दा एकआपसमा अन्तद्र्वन्द्व जस्तो स्थिती पैदा भएको उनले उल्लेख गरे ।

तहगत सरकारबीचमा अन्तरद्वन्द्व हुँदा संघीयता कमजोर हुनसक्ने भन्दै उनले सरोकार पक्ष सबै यसमा गम्भीर बन्नुपर्ने बताए । संघ, प्रदेश र स्थानीय तहबीच समन्वयकारी भूमिका अहिलेको प्रमुख आवश्यकता रहेको उनको भनाई छ ।

तीन वटै तहका सरकारबाट बन्ने नीति, नियम, मापदण्ड गहन अध्ययन गरि निर्माण गर्नुपर्नेमा पनि उनले जोड दिए ।

देशमा आर्थिक तरलता रहेको भन्दै मन्त्री लामाले यसको असर पनि तीनवटै तहका सरकारमाथि हाल परिरहेको जिकिर गरे ।