मकवानपुरमा सवारी दुर्घटना, दुई जनाको मृत्यु

तु खबर संवाददाता
२०८० मंसिर १४,बिहीबार १५:२४
file photo

मकवानपुर । मकवानपुरमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दिउँसो १ बजेको समयमा मकवानपुरगढी गाउँपालिका वडा नम्वर २ धवाडीपुलस्थित भित्रि सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, सुकौराबाट कान्तिलोकपथतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१२ प ६९११ नम्वरको मोटरसाइकल आफै अनियन्त्रित भई पुल छेउबाट अन्दाजी १२ मिटर तल खसेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार मकवानपुरगढी–२ कुर्लेपाखा बस्ने ३४ वर्षीया रुपा स्याङतान र उनको ५ महिने छोरी रहेका छन् । दुर्घटनामा परेर दुबै जनाको घटनास्थलमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

यस्तै, सोही दुर्घटनामा परेर मोटरसाइकल चालक अन्दाजी ३५ वर्षीय भिमबहादुर स्याङतान गम्भीर घाइते भएका छन् । उनको हेटौंडा अस्पतालमा उपचार पश्चात थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन रिफर गरिएको छ ।

भिमबहादुर मृतक रुपाका श्रीमान हुन् ।