अमेरिकाको अध्यागमन हिरासतमा रहेका एक नेपालीको मृत्यु

तु खबर संवाददाता
२०८० मंसिर १,शुक्रबार १७:२०
file photo

काठमाडौं । अमेरिकाको अध्यागमन हिरासतमा रहेका एक जना नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिन्धुपाल्चोकका बाह्रबिसे नगरपालिका–६ का ३२ वर्षीय सुवास श्रेष्ठ रहेका छन् । साढे दुई महिना अघिदेखि अमेरिकाको अध्यागमन हिरासतमा रहेका श्रेष्ठको मृत्यु भएको हो ।

उनको टेक्सासको कर्नेस काउन्टी इमिग्रेसन प्रोसेसिङ सेन्टरमा गत कात्तिक २७ गते सोमवार मृत्यु भएको अमेरिकाको इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट एजेन्सी आईसीईले पुष्टि गरेको छ ।

उनको मृत्युको आधिकारिक कारण भने हाल खुलाएको छैन । पारिवारिक श्रोतका अनुसार, २०८० भदौ ५ गते घरबाट हिँडेका उनी एजेन्टलाई ८५ लाख रुपैयाँ बुझाएर उनी काठमाडौंबाट टर्की, स्पेन हुँदै मेक्सिको पुगेका थिए ।

गत सेप्टेम्बर २ मा उनी मेक्सिकोबाट अवैध रुपमा अमेरिकाको एरिजोनाको लुकभिल छिरेका उनलाई तत्काल अध्यागमनका अधिकारीले नियन्त्रणमा लिएर टेक्सासको कर्नेस काउन्टी इमिग्रेसन प्रोसेसिङ सेन्टरमा हिरासतमा राखेका थिए । उनलाई अवैध रुपमा प्रवेश गरेको भन्दै डिपोर्ट गर्ने तयारी थियो ।