मुगुमा चार जनाको हत्या, मृतक सबै एकै परिवारका सदस्य

तु खबर संवाददाता
२०८० कार्तिक १०, शुक्रबार १६:२७

सुर्खेत । मुगुमा चार जनाको हत्या भएको छ । छायानाथ रारा नगरपालिका–६ मन्दु गाउँमा तीन बालबालिका र एक जना महिला गरी चार जनाको हत्या भएको अवस्थामा शुक्रबार बिहान शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, मृतक सबै एकै परिवारका सदस्य हुन् । हत्या हुनेहरुमा स्थानीय २६ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, १ वर्षीया छोरा रहर बोहोरा र ७ वर्षीया छोरी अप्सरा बोहोरा रहेका छन् ।

शुक्रबार बिहान ११ बजे खबर पाउन साथ प्रहरी त्यहाँ पुगेको थियो । प्रहरीका अनुसार, मृतक आमा श्रीदेवी छोराछोरीसहित ७ गते बिहान दसैँको टीका थाप्न सोही वडामा रहेको माइती गाउँ कोटिल्ला गएका थिए ।

८ गते बेलुका घर फर्केका उनीहरूको सोही राति हत्या भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरिएको भएपनि पुष्टि हुन सकेको छैन ।

मृतकमा श्रीमान् वैदेशिक रोजगारीमा रहेका बुझिएको छ । उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।