हेटौंडामा टि–२० क्रिकेट प्रतियोगिता सुरु

तु खबर संवाददाता
२०८० आश्विन २४, बुधबार १५:४७

मकवानपुर । मकवानपुरको हेटौंडामा बुधबारबाट टि–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता मकवानपुर जिल्ला क्रिकेट संघको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा सुरु भएको हो ।

हेटौंडा–४, हुप्रचौरमा सुरु भएको उक्त प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले गरेका हुन् । सो क्रममा उनले खेलाडीहरुलाई सफलताको शुभकामना दिँदै नियमपूर्वक खेल खेल्न आग्रह गरे ।

प्रतियोगिताको उद्घाटन कार्यक्रम मकवानपुर जिल्ला क्रिकेट संघका अध्यक्ष करण महत्रा क्षेत्रीको सभाध्यक्षतामा भएको हो ।

प्रतियोगिताको पहिलो दिनको पहिलो खेलमा नवजीवन ज्योति क्रिकेट क्लबले टस जितेर कमाने क्रिकेट क्लबलाई व्याटिङको निम्तो दिएको छ । बुधबार नै दोस्रो खेल रेड सोइल क्रिकेट क्लब र मकवानपुर क्रिकेट क्वबबीच हुनेछ ।

प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधी विजेता टिमले १ लाख रुपैयाँ र उपविजेता टिमले ५० हजार रुपैयाँसहित ट्रफि, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यस्तै, विधागत उत्कृष्ट खेलाडीहरुका लागि समेत विशेष पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको फाइनल खेल आगामी आइतबार हुनेछ ।