सशस्त्र प्रहरीद्वारा चाडपर्व लक्षित हेल्प र हेल्थ डेस्क स्थापना
काठमाडौं । चाडपर्वलाई लक्षित गरी सशस्त्र प्रहरी बल, नेपालले देशका विभिन्न १ सय २२ स्थानमा सहायता कक्ष (हेल्प डेस्क) र ३३ स्थानमा स्वास्थ्य कक्ष (हेल्थ डेस्क) को स्थापना गरेको छ ।
चाडपर्वको बेला सीमा नाकाबाट आवतजावत गर्ने नागरिकहरुको सुरक्षा, सीमा क्षेत्रमा हुने अवैध गतिविधि, चोरी डकैती, लुटपाट जस्ता घटनाहरु हुन नदिन, अप्ठ्यारोमा परेका नागरिकको सहयोग गर्न हेल्प डेस्क राखिएको हो ।
यस्तै, सीमा नाकाबाट आवतजावत गर्ने क्रममा कुनैपनि नागरिकमा स्वास्थ्य समस्या देखिएमा हेल्थ डेस्कमा उपलब्ध श्रोतसाधनको प्रयोग गरी स्वास्थयकर्मीहरुद्वारा उपचार गर्ने व्यवस्था मिलाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
भारततर्फको सीमावर्ती इलाकामा १ सय २० स्थानमा र चीनतर्फ २ स्थानमा सहायता कक्ष राखिएको छ भने स्वास्थ्य कक्ष भारततर्फ ३० स्थानमा र चीनतर्फ ३ स्थानमा राखिएको छ ।
दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरेर सीमा इलाकामा नागरिकको सुरक्षित एवम् सहज आवगमनको व्यवस्था मिलाउन तथा आपतविपदमा परेका नागरिकको उद्वार कार्यमा सहयोग पुर्याउने उद्देश्यले दुवै देशका सुरक्षाकर्मीसँगको समन्वय गरेर हेल्प र हेल्थ डेस्को स्थापना गरेको सशस्त्र प्रहरीले जनाएको छ ।