मकवानपुरमा डेंगू संक्रमितको संख्या ५७७ पुग्यो
मकवानपुर । मकवानपुरमा गत साउन १ गतेदेखि हालसम्म डेंगू संक्रमितको संख्या ५७७ पुगेको छ ।
जिल्लामा आइतबार थप ७ जनामा डेंगू संक्रमण भएसँगै संक्रमितको कूल संख्या ५७७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
आइतबार जिल्लाको हेटौंडा उपमहानगरपालिकाका ६ जना र इन्द्रसरोवर गाउँपालिकाका एक जनामा डेंगू संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा हालसम्म संक्रमित भएकामध्ये सबैभन्दा धेरै संक्रमित हेटौंडा उपमहानगरपालिमा रहेका छन् । त्यहाँ ३९७ जनामा डेंगू संक्रमण पुष्टि भएको छ ।
यसैगरी, थाहानगरपालिकाका दुई जना, मकवानपुरगढी गाउँपालिकाका १३ जना, बागमती गाउँपालिकाका २३ जना, मनहरी गाउँपालिकाका ५६ जना, इन्द्रसरोवर गाउँपालिकाका ४ जना, भीमफेदी गाउँपालिकाका १५ जना, बकैया गाउँपालिकाका १८ जना र राक्सिराङ गाउँपालिकामा २ जनामा डेंगू संक्रमण पुष्टि भएको छ ।
यस्तै, सो अवधिमा हेटौंडामा अस्पतालमा ४० जना र अन्य जिल्लाका ७ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
त्यस्तै, सो अवधिमा जिल्लामा डेंगू संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१३ का एक जना पुरुष रहेका छन् ।
