बझाङमा फेरी भूकम्पको धक्का महसुस

तु खबर संवाददाता
२०८० आश्विन १९, शुक्रबार ०९:०१
file-photo

बझाङ । सुदूरपश्चिम प्रदेशको बझाङको चैनपुर केन्द्रविन्दु भएर गएराति दुई पटक भूकम्पको धक्का महसुस भएको छ । गएराति १०ः५२ बजे र १२ः२३ बजेको समयमा भुकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।

भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार, १०ः५२ बजे बझाङको चैनपुर केन्द्रविन्दु भएर ४ दशमलव ३ र १२ः२३ बजे चैनपुर नै केन्द्रविन्दु भएर ३ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो ।

पछिल्लो समय बझाङको विभिन्न स्थानमा केन्द्रविन्दु बनाएको भुकम्पको धक्का महसुस भइरहेको । गत मंगलबार अपराह्न २ः४० बजे बझाङको तालकोट केन्द्रविन्दू भएर ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो ।

दोस्रो पटक ३ः०६ बजे बझाङ सदरमुकाम चैनपुर भएर ६ दशमलव ३ रेक्टर स्केल, ३ः१३ बजे चैनपुर केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केल, ३ः४५ बजे सुरमा केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो ।

उक्त भूकम्पमा परेर एक जनाको ज्यान गएको थियो भने दर्जनौँ व्यक्ति घाइते भएका थिए । यस्तै सयौँ घरमा क्षति पुगेको थियो ।