बझाङ भूकम्प अपडेट : एक जनाको मृत्यु
चैनपुर । बझाङमा भूकम्पमा परेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छन् ।
मंगलबार गएको भूकम्पपछिको पहिरोमा परेर धामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ
।यस्तै, बझाङमा भूकम्पबाट ११ जना घाइते भएका छन् । दुई जना उपचारपछि घर फर्किएका छन् भने ९ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
घाइते हुनेमा जयपृथ्वी नगरपालिका–११ की सात वर्षीया सलिना जोशी, सोही ठाउँकी प्रमिला जोशी, खप्तडछान्ना गाउँपालिका–७ की १८ वर्षीया सुनिता रोकाया, जयपृथ्वी नगरपालिका–७ का तीन वर्षीय नितिक बोहारा, सोही ठाउँकी एलिसा बम, मष्टा–३ की १५ वर्षीया आँसु रोकाया, मष्टा–१ की १३ वर्षीया सविता रोकाया, सोही ठाउँकी ३६ वर्षीया शान्तिदेवी थापा, दुर्गाथली गाउँपालिका–६ का २३ वर्षीय अम्मर जाग्री, तलकोट गाउँपालिका–३ का १८ वर्षीय कमल कडाल र जयपृथ्वी नगरपालिका–१० की २० वर्षीया रमा परियार रहेका छन् ।
प्रहरीका अनुसार भूकम्पबाट बझाङमा एक सय ३५ संरचनामा क्षति पुगेको छ ।
